चैत ११, २०७८ शुक्रबार

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिक स्थानीयले व्यापारका लागि छाप्रो राख्न खोजेपछि नेपाली भूभागमा आएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले व्यापारमा अवरोध सिर्जना गरेको छ ।

सिद्धनाथ मन्दिर व्यवस्थापन समिति ब्रह्मदेवका अध्यक्ष नारायणसिंह महताका अनुसार पूर्णागिरि मेलालाई मध्यनजर गर्दै वर्षाैँदेखि त्रिपाल थापेर पसल राख्ने गरेकामा यसपालि पनि निरन्तर मेला अवधिमा पसल राख्न खोजिएको थियो । तर एसएसबीले नेपाली भूमिलाई आफ्नो भूमि भन्दै पसल राख्न नदिएको हो ।

मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष केशवसिंह नायकले भारतीय पक्षले त्यस क्षेत्रमा सीमा स्तम्भ हराएको भन्दै केही काम गर्न नदिएको बताए ।

ब्रह्मदेव नजिक भारतीय पक्षले स्थानीयलाई व्यापार गर्नमा अवरोध गरेपछि शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी तथा सुरक्षा निकायका प्रमुख त्यहाँ पुगेका थिए । तर भण्डारीले ब्रह्मदेवमा केही विवाद नभएको जिकिर गरे ।