नेपालबाट दुइटा हात्ती लिएर भारत गइरहेका २ माउतेसहित ३ जनालाई पर्सा पकहामैनपुर गाउँपालिका-५ बाट शनिबार मध्याह्न प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१८ का ६० वर्षीय बुद्धिराम महतो, ४० वर्य राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५ का ३५ वर्षीय सफरोज आलम रहेका पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
पक्राउ परेकामध्ये आलम बिक्री वितरणमा संलग्न रहेको खनालले बताए।
बिक्री वितरणका लागि हात्तीहरू नेपालबाट भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
दुबै हात्ती र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा पठाइने खनालले बताए।
हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट लगिएको बुझिएको छ। यसबारे अनुसन्धान भइरहेको खनालले जानकारी दिए ।