काठमाडौं ।
इटालियन क्लब युभेन्ट्स रोनाल्डोकै देशको क्लबसँग पराजित भएको छ ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्स पोर्चुगिज क्लब एफसी पोर्टोसँग पराजित भएको हो ।
गए राति भएको पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।युभेन्ट्सका फेड्रिको चिसाले एक गोल फर्काए ।
बोरुसिया सेभिया बिरुद्ध हावी
बुधबार रातिकै अर्को खेलमा स्पेनिश क्लब सेभिया पराजित भएको छ । सेभिया घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग पराजित भएको हो ।
बोरुसिया ३–२ गोल अन्तरले विजयी भयो । सेभियाले सुसोको गोलबाट अग्रता लिए पनि हालान्डले २ तथा डाहोउडले १ गोल गर्दै बोरुसियालाई ३–१ को अग्रता दिलाएपछि दवावमा आएको सेभियाका लागि ल्युक डे जङले अन्त्यतिर १ गोल फर्काएका थिए ।
दोस्रो लेगको खेल बोरुसियाको मैदानमा हुनेछ ।