काठमाडौं । सेयर बजारसम्बन्धी जानकारी दिन देशका विभिन्न स्थानहरूमा तालिम सञ्चालन हुने भएको छ।
अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ-संस्थाहरूको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरूमा सेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो।
तालिम धेरैजसो ठाउँमा निःशुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा निश्चित शुल्क लिई सञ्चालन हुन लागेको सेयर सचेतना अभियानका आयोजक अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलले बताए।
अभियानअन्तर्गत रुकुम, बिराटनगर, धरान, दमक, चितवन, जनकपुर, बीरगंज, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत र धनगढीमा सेयर बजारसम्बन्धी तालिम सञ्चालन हुने भएको हो।
सो तालिममा तालिमकर्ताका रूपमा सेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ता एवम् सेयर बजार विश्लेषक सुबासचन्द्र भट्टराई रहनेछन् भने कार्यक्रमलाई स्थानीय संघ संस्थाले सहआयोजना गर्नेछन् ।
सेयर बजारसम्बन्धी सचेतनाको कमी भएकै कारण धेरै लगानीकर्ताहरू सेयर बजारको उच्च विन्दुमा फसेको स्थितिमा यस्ता तालिमले विशेषगरी नयाँ तथा साना लगानीकर्ताहरूलाई सहयोग गर्ने विश्वास आयोजकको छ।
पछिल्लो समय देशभर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको संख्या दिनानुदिन बढिरहेको छ। झन्डै ५० लाख हाराहारीले डिम्याट खाता खोलिसकेको परिप्रेक्षमा यो तालिम सबैका लागि उपयोगी हुने आयोजकको विश्वास छ।