पाल्पा । पाल्पालाई शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले ढाकाको राजधानी घोषणा गरेकी छिन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवर्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीले बताइन् । पाल्पा जिल्लाले छ दशकदेखि नै ढाका उत्पादन गरिरहेकाले राजधानी घोषणाले ढाकाको पहिचानलाई स्थापित गर्ने र ढाकाको बजार प्रवर्धनमा सहयोग पुग्ने उनले बताइन् ।
हाल पाल्पा जिल्लाभर एक दर्जनभन्दा बढी ढाका उद्योग छन् । ती ढाका उद्योगमा एक हजारभन्दा बढीले काम गरिरहेको बताइएको छ । पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा सहयोग पु-याउने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए । परम्परागत रूपमा हातले बनाएका ढाकाबाट अहिले विभिन्न सामग्री उत्पादन हुन्छन् । अहिले पाल्पाली ढाकाले आफ्नै ब्रान्ड पाउन सफल भइसकेकाले पाल्पालाई चिनाउन राजधानी घोषणाले सहयोग पुग्ने पाल्पाली ढाका सङ्घका अध्यक्ष मनोज पौडेलले बताए ।