चैत १४, २०७८ सोमबार

नेपालले पिएनजीलाई १८४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले  ४३ रन जोडे। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे। 

रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह  ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए। 

तेस्रो ओभरमा २५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो। 

१२ ओभरमा दोस्रो विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरसम्ममा प्रत्येक ओभरमा विकेट गुमाएको थियो। जसका कारण १६ ओभरमा नेपालले ६ विकेट गुमाउँदा १४१ रन जोडेको थियो। 

१८ औं ओभरमा आउट भएका करण केसीले ७ बलमा १४ रन बनाए। उनले २ छक्का प्रहार गरेका थिए। सोमपाल कामी १ रनमै आउट भए।

अन्तिम ओभरमा आरिफ शेख २२ बलमा ३१ रन जोडेर आउट भए।

बलिङमा पिएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए।