चैत ८, २०७७ आइतबार


एजेन्सी।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मार्च २६ मा बंगलादेश भ्रमणमा जाँदैछन्। भ्रमण कार्यक्रम सार्वजनिक भएसँगै बंगलादेशमा मोदीको विरोध भइरहेको छ।   

बंगलादेशमा रहेका मुसलमान र विद्यार्थी संगठनहरुले मोदीको भ्रमणको विरोध गरेका हुन्। राजधानी ढाकास्थित बैतुल मोकार्रम मस्जिद बाहिर करिब ५०० जना मुस्लिम समुदायका व्यक्तिहरुले र्‍याली निकालेर विरोध जनाएका हुन्। उक्त र्‍यालीमा भारत र मोदीविरुद्ध नारा लगाइएको दाबी भारतीय मिडियाहरुले गरेको छ।

यस्तै, वामपन्थी विचारधाराबाट प्रभावित करिब २ हजार विद्यार्थीहरुले ढाका विश्वविद्यालयको बाहिर मार्चपास निकालेको स्थानीय मिडियाले जनाएको छ।  विद्यार्थीहरुले गो ब्याक मोदी भन्दै र्‍याली निकालेका थिए।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा मोदी बंगलादेशको भ्रमणमा जान लागेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। सन् १९७१ मार्च २६ मा बंगलादेशले पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। करिब ९ महिनाको हिंस्रक संघर्षपछि भारतको सहयोगमा पाकिस्तानबाट बंगलादेश छुटिएको थियो।

बंगलादेशमा विरोध सुरु भएसँगै मोदीको सुरक्षालाई लिएर भारतले चिन्ता व्यक्ता गरेको छ। बंगलादेशी विदेश मन्त्री एके अब्दु मोमेनले भने मोदीको सुरक्षालाई लिएर चिन्तित हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

मन्त्री मोमेनले केही व्यक्तिहरुले मात्रै मोदीको भ्रमणलाई लिएर विरोध प्रदर्शन गरिरहेको र अधिकांश जनता आफ्नो साथमा रहेको बताए। बंगलादेश लोकतान्त्रिक देश भएकाले सबैलाई अभिव्यक्तिको स्वतन्त्रता रहेको उनको तर्क थियो।

विरोध गर्नेहरुलाई विरोध गर्न दिउँ। त्यसबाट चिन्तित हुनुपर्ने कारण हामीसँग छैन उनले भने।

मोमनले बंगलादेश आउन लागेका मोदीलाई आवश्यक सबै सुरक्षा प्रदान गरिने समेत बताए।