रुसी विदेश मन्त्रालयका अनुसार रुसी विदेशमन्त्री सर्जेई लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका छन्।
तुन्सीमा चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी छिमेकी मुलुकहरूको सम्मेलन आयोजना गरेका छन्।
ग्लोबल टाइम्सका अनुसार मार्च ३० र ३१ मा हुने उक्त सम्मेलनमा पाकिस्तान, इरान, रुस, ताजिकस्तान, तुर्कमेनिस्तान र उज्वेकस्तानका विदेशमन्त्री सहभागी हुनेछन्। तालिबानका कार्यवाहक विदेशमन्त्री पनि सम्लेनमा सहभागी हुने बताइएको छ।
गत साता चिनियाँ विदेशमन्त्री यीले अचानक काबुलको भ्रमण गरेका थिए। चीन पुगेका रुसी विदेशमन्त्री लाभरोभ शुक्रबार बेइजिङ हुँदै भारतको नयाँदिल्ली आइपुग्ने भारतीय समाचार पत्र द हिन्दुले उल्लेख गरेको छ।
दिल्लीमा हुँदा लाभरोभले महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्। रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको छ। संसारभरिबाट युक्रेनमाथि रुसी आक्रमणको विरोध भइरहँदा भारत र चीनले भने मौनता साँधेका छन्।
संयुक्त राष्ट्रसंघमा भएका विभिन्न मतदानमा चीन रुसको पक्षमा उभिएको छ भने भारत तटस्थ बस्दै आएको छ। सीमामा तनाव भए पनि भारत र चीनले युक्रेनमाथि रुसी आक्रमणबारे उस्ताउस्तै धारणा राखेका छन्।
यस्तो बेला एकैपटक दुई देशमा हुन लागेको रुसी विदेशमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि गत बिहीबार चिनियाँ विदेशमन्त्री यी र भारतीय समकक्षी एस जयशंकरबीच नयाँदिल्लीमा तीन घण्टासम्म कुरा भएको थियो।