चैत १६, २०७८ बुधबार

नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ८ विकेटको क्षतिमा ११४ रन जोड्यो।

मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान जुब्लादी जुल्कीफरले ३२ रन जोडे। उनले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि ओपनर विरनदीप सिंह इनिङको पहिलो बलमै आउट भए। उनलाई करण केसीले बोल्ड गरेका थिए। 

कप्तान अहमद फइज २४ रनमा आउट भए। उनले ३८ बलमा ३ चौका प्रहार गरे। सयद अजिज १४ रनमा आउट हुँदा शर्भिन मुनियान्डी ९ रनमा पेभिलियन फर्के।

यस्तै मोहमद अमिर १६ रन बनाएर खेलिरहदा अबिनास बोहराको एलबिडब्लूको धरापमा परे। करणले १९ ओभरमा अमर हजलानलाई शून्यमा आउट गरे।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए। सन्दीपले ४ ओभरमा २७ रन र करणले ३ ओभरमा १६ रन दिए। 

अबिनास बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १-१ विकेट हात पारे।

यसअघि दुवै टिमले सुरूवाती खेलमा जित निकालेका थिए। दुवैले पिएनजीलाई पराजित गरेका थिए।