चैत १७, २०७८ बिहिबार

नेपाल टी-२० क्रिकेटको ५० औँ अन्तर्राष्ट्रिय खेलमा नेपालले शानदार ब्याटिङ गर्दै पपुवा न्युगिनीलाई ३७ रनले पराजित गरेसँगै त्रिकोणात्मक शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ।

नेपालले बाङ्ग्लादेशमा भएको सन् २०१४ को विश्वकपमा पहिलो आधिकारिक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

त्यसको आठ वर्षपछि नेपालले टी-२० को ५०औँ अन्तर्राष्ट्रिय खेल कीर्तिपुर मैदानमा खेल्यो, जहाँ घरेलु टोलीले पपुवा न्युगिनीलाई पराजित गरेको छ।

टी -२० आई सिरिज: पपुवा न्यूगिनीसँग नेपालको बदला
नेपाली खेलाडीहरूले खुलेर ब्याटिङ गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रनको बनाएको थियो।

हारसँगै पपुवा न्यूगिनीको फाइनलमा पुग्ने सम्भावना एकदम कठिन भएको छ।

अहिलेसम्म खेलेको तीनवटै खेल हारेको पपुवा न्युगिनीले फाइनलमा पुग्न शुक्रवार मलेशियालाई राम्रो अन्तरले हराएर "नेट रन रेट" को भर पर्नुपर्छ।

तर नेपालले शनिवार मलेशियालाई हराउन सकेको खण्डमा मात्र त्यो अवस्था बन्नेछ।


ओपनर जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेसँगै नेपाली ब्याटरहरू कीर्तिपुरमा खुलेर खेल्ने सङ्केत देखिएको थियो।

भुर्तेल सातौँ ओभरमा हाकुरेको बलमा १७ रनमा क्याच आउट भए भने त्यसपछि भानुआले १०औँ ओभरमा शेखको विकेट लिएका थिए।

आशिफले २९ बलमा चार चौका र एक छक्काको मदतले ३८ रन बनाए।

शृङ्खलामा प्रभावकारी प्रदर्शन गरिरहेका रोहित पौडेलले पनि २३ बलमा ४१ रन जोडे। जसमा चार चौका र दुई छक्का सामेल थियो।

रोहित १५औँ ओभर आउट हुँदा नेपालको स्कोर १२३ रन पुगेको थियो।

त्यसपछि खेलमा जमेका दीपेन्द्रसिंह ऐरी र नयाँ खेलाडी आदिल अन्सारीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

दबावविना खेल्ने मौका पाएका ऐरीले ६६ रन बनाउँदै टी-२० अन्तर्राष्ट्रिय खेलमा चौथो पटक ५० भन्दा बढी रन बनाए। ३३ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरेका थिए।

ऐरीले १८औँ ओभरको सुरुको तीन बलमा लगातार तीन छक्का प्रहार गरेर खेलमा रोमाञ्च थपेका थिए। जसले गर्दा उनले २९ बलमा अर्धशतक पूरा गर्न भ्याएका थिए।

विश्वकप यात्रामा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित
आठ वर्षपछि के नेपाल फेरि विश्वकपमा छनोट हुन सक्छ?
१९औँ ओभरको अन्तिम बलमा उनी पोकानाको बलमा क्याच आउट हुन पुगे। सो ओभरमा अन्सारीले लगातार तीन छक्का हान्दा नेपालले कूल ३२ रन जोडेको थियो।

अन्सारीले ११ बलमा एक चौका र तीन छक्कासहित ३३ रन जोडेर आफ्नो "डेब्यू" मा प्रभाव छोडे।

अन्तिम ओभरमा भने नेपालको तीन विकेट झरेको थियो। काबुआ मोरियाको सो ओभरमा अन्सारी, करण केसी (१ रन) र दिलीप नाथ (० रन) आउट भएका थिए।