श्रीलङ्कामा आर्थिक सङ्कटको विरोधमा प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ अगाडि बढेको भोलिपल्ट श्रीलङ्काली सरकारले आपत्काल घोषणा गरेको छ। आपत्कालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धलाई विनाकुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै भएका विरोध प्रदर्शनपछि श्रीलङ्का तनावग्रस्त भएको हो।
श्रीलङ्कामा चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावका छ ।
राष्ट्रपति राजापाक्षेले सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपत्काल घोषणा गरिएको बताएका छन्।
सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कर्फ्यू लगाएको थियो ।
देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत् कटौती हुने गरेको छ, इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ।
२ करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ।
मूल्यवृद्धि आकाशिएको छ भने दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरू नै स्थगित गरिएका छन्।