चैत १९, २०७८ शनिबार

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको निर्वाचनका लागि मतदान जारी छ । 

२६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान काठमाडौँसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट भइरहेको हो ।

बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरूसहित २५ जनाको कार्यसमिति चयन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको मतदान अपराह्न ४ बजेसम्म हुनेछ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार केही स्थानमा मतदान सकिएको छ भने धेरैजसो मतदान केन्द्रहरूमा ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरू काठमाडौँमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करीब ३ दिन लाग्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत पाठकले बताइन् ।


नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ । सो समूहहरूमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।