नेपालगन्ज विमानस्थलमा प्रवेश दिने विषयमा भएको विवादबीच त्यहाँ खटिएका प्रहरी सहायक निरीक्षक नवराज बमले नेपाल वायुसेवा निगम नेपालगन्जका प्रमुख किरणमान श्रेष्ठमाथि हातपात गरेकाे घटना बाहिरिएको छ ।
श्रेष्ठका अनुसार बिहान चार्टर फ्लाइटमार्फत रारा जानका लागि आएको निगमको केन्द्रका कर्मचारीहरूको टोलीलाई टर्मिनलमा पस्नुअघि बोर्डिङ पास देखाउँदा पनि बमले पस्न नदिएपछि सामान्य विवाद भएको थियो। हवाइजहाज चढ्का लागि नभइ नहुने बोर्डिङ पास देखाउँदा देखाउँदै पनि प्रसनि बमले छिर्न नपाउने बताएपछि उनलाई सम्झाउन खोज्दा आफूलाई धकेलिदिएको श्रेष्ठले बताए। ती प्रहरी निरीक्षकले अरूबेला पनि यात्रुहरूलाई भेदभावपूर्ण व्यवहार गर्दै आएको पाइएको श्रेष्ठ बताउँछन्। शुक्रबार पनि आँखैअघि टिकट नभएका व्यक्तिलाई प्रवेश गर्न दिएको तर बोर्डिङ पास भएकाहरूलाई छिर्न नदिएको उनले बताए। अन्तमा विमानस्थलको सुरक्षा इन्चार्जसहितको टोलीले सम्झाइबुझाइ गरेकाे श्रेष्ठले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले उक्त घटनाबारे आफूले अनौपचारिक रूपमा जानकारी पाए पनि औपचारिक उजुरी नआएको बताए। टिकटका विषयमा सामान्य विवाद भएको भन्ने जानकारी पाएको उनले बताए। औपचारिक रूपमा उजुरी आएमा यथार्थ बुझेर दोषीलाई कारबाही गरिने उनले बताएका छन्।
यता प्रहरी स्रोतका अनुसार नेपाल वायुसेवा निगम नेपालगन्जका प्रमुख श्रेष्ठले जहाजमा टिकटविनाका व्यक्तिलाई उडाउन खोज्दा विवाद भएको थियो। प्रहरीले विना टिकटका व्यक्तिलाई रोक्न खोज्दा प्रमुख श्रेष्ठले दबाब दिएका बताइएको छ।