राष्ट्रिय महिला लिगमा एपिएफ एफसीले फराकिलो जित हात पारेको छ। आज ९शनिबार०को पहिलो खेलमा एपिएफले चन्द्रपुरलाई ८–१ ले पराजित गरेको हो।
एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् भने मन्जलीकुमारी योञ्जनले २ तथा अनिता केसी, अनिता बस्नेत र अनु लामाले समान एक–एक गोल गरे। भरतपुर –१९ शारदानगर माविको मैदानमा खेलको पहिलो हाफमा नै एपिएफले चन्द्रपुरको पोष्टमा ५ गोल गर्यो। खेल शुरु भएको चौथो मिनेटमा नै अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्।
१५ औं मिनेटमा मन्जलीले एपिएफलाई दोहोरो अग्रता दिलाइन्। लगत्तै १६ औं मिनेटमा अनिता बस्नेतले एपिएफका लागि तेस्रो गोल गरिन्। २३ औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफको अग्रता लम्बाइन्। ३२ औं मिनेटमा मन्जलीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपिएफले ५–० को अग्रता लियो।
४९ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ६–० को अग्रता लियो। ७० औं मिनेटमा अनुले गोल गर्दै एपिएफलाई ७–० को अग्रता दिलाइन्। ८१ औं मिनेटमा चन्द्रपुरले गोल फर्कायो। चन्द्रपुरकी मिडफिल्डर सुमित्राले अगाडि बढेकी एपिएफकी गोलकिपर सावित्री किसानलाई बिट गर्दै गोल गरिन् । ९० औं मिनेटमा साम्बाले ह्याट्रिक गरेपछि एपिएफ ८–१ को फराकिलो अन्तरले विजयी भयो।
खेलको प्लेयर अफ दि म्याच एपिएफकी रेनुका नगरकोटी भइन्। यो जितसँगै एपिएफ चार खेलबाट १२ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ। समान खेल खेलेको चन्द्रपुर एक अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।
यस्तै आजको दोस्रो खेलमा रश्मि घिसिङले ह्याट्रिक गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले महत्त्वपूर्ण ३ अंक बटुलेको छ। आर्मीले धनगढीलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो।
एकतर्फी खेलमा आर्मीलाई फराकिलो जित दिलाउन रश्मीले ह्याट्रिकसँगै विमला चौधरी, अमिशा कार्की र कुसुम खतिवडाले समान एक–एक गोल गरे।
खेलको ३५औं मिनेटमा आर्मीले पेनाल्टी पायो। धनगढीकी डिफेन्डर नीलम सिंहले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए। प्राप्त अवसरलाई सदुपयोग गर्दै रश्मिले बललाई जाली चुमाइन्। पहिलो हाफको अन्तिम मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाइन्। पहिलो हाफमा नै थप गरिएको अतिरिक्त समयमा रश्मिले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो।
५८ औं मिनेटमा आर्मीकी रश्मिले ह्याट्रिक पूरा गरिन्। ८१ औं मिनेटमा अमिशाले गोल गर्दै आर्मीको अग्रता लम्बाइन्। ८८ औं मिनेटमा कुसुमले गोल गर्दै आर्मीलाई ६–० को जित दिलाइन्। आर्मीकी रश्मि प्लेयर अफ दि म्याच भइन्।
यो जितपछि आर्मी ४ खेलबाट ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको धनगढी भने शीर्षबाट दोस्रो स्थानमा झरेको छ। जारी लिगमा धनगढीको यो पहिलो हार हो। धनगढीको ४ खेलबाट ९ अंक भएको छ।
लिगमा आइतबार पनि दुई खेल हुनेछ। पहिलो खेल दिउँसो १ः१५ बजे नेपाल पुलिस क्लब र वाकिङबीच हुनेछ। यस्तै दिउँसो ४ः१५ बजे विराटनगर र ललितपुरबीच हुनेछ।