काठमाडौँ । देशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको छ । राष्ट्र बैंकले गाडीलगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तुबाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । बैंकहरूलाई एलसी नखोल्न राष्ट्र बैङ्कले कडा निर्देशन पनि दिएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्नसमेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ ।
राष्ट्र बैंकका अधिकारीहरूले सो छलफलमा चालु आर्थिक वर्षको यो अवधिमा ७० अर्ब बढीको गाडी तथा पाट पुर्जा आयात भएका छन् । एकातिर सुपारीलगायत तस्करीजन्य वस्तुको आयात खुलाउने र अर्कोतिर अत्यावश्यक वस्तुबाहेकको आयातका लागि एलसी खोल्न रोक लगाउने कुरा नमिलेको बैंकहरूको भनाइ छ ।