एएफसी कप छनोट–२०२२ को प्ले अफमा मछिन्द्र फुटबल क्लबले आज श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ।
ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग बेलुका ५ बजे खेल्ने छ। मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो।
मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ। मछिन्द्रले त्यहिँ अनुसार तयारी गरिरहेको छ। प्रशिक्षक प्रवेश कटवालले विपक्षी टोली राम्रो रहेको समेत बताए । उनले आफ्नो टोलीका परिवर्तन नभएको समेत बताए।
‘हाम्रो टोलीमा परिवर्तन छैन। लिग खेलेकै २४ खेलाडी छन्। श्रीलंकाको लिग राम्रो चलिरहेको छैन। ब्लु स्टार त्यसको च्याम्पियन रैछ। उनीहरुको खेल हेरेको छु, राम्रो खेलेको छ विपक्षी टिम राम्रो छ, उनले भने।
मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने रहेको बताए।
यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। खेल अप्रिल १२ मा हुनेछ। मछिन्द्रले यस खेलको टिकट दर १ हजार र ५ सय राखेको छ। भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर राखिएको छ।