चैत २२, २०७८ मंगलबार

मकवानपुर । नेपाल प्रेस युनियनको महाधिवेशनको तयारीका विषयमा केन्द्रीय प्रतिनिधि र प्रेस युनियन हेटौंडा शाखाबीच छलफल भएको छ । महाधिवेशन तयारीका विषयमा जानकारी लिन युनियनका पूर्व महासचिव शिव लम्सालसहितको टोली हेटौंडा गएको थियो ।

छलफलका क्रममा प्रेस युनियन हेटौंडाले महाधिवेशन तयारीका लागि केन्द्रबाट कुनै पनि निर्देशन नआएको गुनासो गरेको छ । युनियनका मकवानपुर जिल्ला अध्यक्ष पोष्टकुमार अधिकारीले महाधिवेशनको तयारीका लागि केन्द्रबाट कुनै जानकारी नआएको बताए । हेटौंडामा महाधिवेशन गर्ने निर्णय भएको मात्र आफूहरूले सुनेको भन्दै तयारीका लागि कुनै पत्र वा मौखिक जानकारी अहिलेसम्म नआएको उनले जानकारी दिए । 

तीन कार्यकालसम्म महाधिवेशन गर्न नसकेको प्रेस युनियनको वर्तमान कार्यसमितिले मिति र स्थानको घोषणा गरेर तयारीका लागि कुनै जानकारी नगराउँदा फेरि पनि महाधिवेशन नहुने हो कि भन्ने आशंका उत्पन्न भएको छलफलमा सहभागीले बताएका थिए । महाधिवेशन हुन्छ भन्ने सुनिश्चित गर्नका लागि तत्काल केन्द्रीय समितिको बैठक बसेर मकवानपुर शाखालाई तयारीका लागि पत्राचार गर्नुपर्ने उनीहरूको माग छ । 

जिल्ला शाखा र केन्द्रीय प्रतिनिधिको छलफलपछि समयमा नै महाधिवेशन गराउन माग गर्दै टोलीले कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँसँग पनि भेट गरेका थिए । भेटका क्रममा सभापति बानियाँले निर्धारित समयमा नै युनियनको महाधिवेशन गराउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए । महाधिवेशन आउँदो जेठ १३ र १४ गते हेटौंडामा हुने भनिएको छ ।