चैत २३, २०७८ बुधबार

बेलायतको योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले मंगलवार एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावललाई अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्त गरिएको घोषणा गरेको छ । उनले त्यहाँ नेपालीले प्रशिक्षकका रूपमा काम गर्ने अवसर पाएका हुन्।

डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ।

नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिमअन्तर्रगत टप अडरको ब्याचम्यानका रूपमा खेल्दै आएका छन्। उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट योङ प्लेयर अफ दी इयरको टाइटल जितेका थिए।

उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट क्लबबाट डिभिजन वान खेलमा लिगतर्फको पहिलो टाइटल हात पारेका थिए। उनले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीका रूपमा आफ्नो नाम लेखाउन सफल भएका थिए।