चैत २३, २०७८ बुधबार

केही समययता नेप्से लगातार ओरालो लागिरहेको छ।
आज सेयर बजारको परिसूचक २३.३२ अंकले घटेर २,४२८.७५ पुगेको हो।

दिनभर जम्मा २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ सेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँ २२ पैसाको कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा बढी हो। 

कारोबार भएका कुल कम्पनीमध्ये १५६ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३३ कम्पनीको मूल्य बढेको छ। बाँकी ६ कम्पनीको मूल्य स्थिर छ। 

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये तीन उपसमूहको सूचक सकारात्मक देखिएको छ। होटल एन्ड टुरिजमको सूचक २.०६ प्रतिशत, अन्यको ०.३७ प्रतिशत र म्युचल फन्डकोल ०.०६ प्रतिशतले बढेको हो। यीबाहेक अन्य उपसमूहहरूको सूचक नकारात्मक देखिएको छ। 

बुधबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको छ। योबाहेक अन्य संस्थाको सेयर भने ४ प्रतिशतभन्दा कमले मात्रै बढेको छ। 

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज  हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ९ करोड ४१ लाख ५७ हजार ६१४ रुपैयाँ ५० पैसाको कारोबार भएको हो। 

यसपछि, राष्ट्र उत्थान लघुवित्त संस्थाको ९ करोड ४ लाख ८९ हजार ८१७ रुपैयाँ २० पैसा, नबिल बैंकको ६ करोड ७० लाख १ हजार ७६४ रुपैयाँ, शिवम् सिमेन्टको ५ करोड ३१ लाख ११ हजार ७२१ रुपैयाँ, र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४८ लाख ७३ हजार २२६ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।