राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले चन्द्रपुर विरुद्ध कठिन जित निकालेको छ।
आज भएको दोस्रो खेलमा विभागीय टोली पुलिसले चन्द्रपुर विरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो।
पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे। चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काईन्। पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोल रहित बराबरीमा रोक्यो।
चन्द्रपुरको डिफेन्स पहिलो हाफमा पुलिसका लागि बाधक बन्यो।
पहिलो हाफ बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफको तेस्रो मिनेटमा नै अग्रता लियो। ४८ औं मिनेटमा मनिषाले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाइन्।
पहिलो गोल गरेको दुई मिनेटमा नै पुलिसले दोस्रो गोल गर्यो। ५० औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाइन्। दुबै गोल चन्द्रपुरको डिफेन्स र गोल किपरको तालमेल नमिल्दा भयो।
५९ औं मिनेटमा चन्द्रपुरकी कप्तानले गोल फर्काइन्। लेफ्ट कर्नरबाट उनले प्रहार गरेको बलले पुलिसकी गोलकिपर उषा नाथलाई बिट गर्दै चुम्यो। पहिलो गोलपछि हौसिएको चन्द्रपुरले पुलिस माथि दबाब बनाएपनि गोल फर्काउन सकेन।
चन्द्रपुरकी दिलकुमारी राना मगर प्लेयर अफ दि म्याच भइन्। यो जितपछि पुलिस पाँच खेलबाट १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको चन्द्रपुरको एक अंक मात्रै छ।
लिगमा शनिबार दुई खेल हुनेछ। पहिलो खेल दिउँसो १ः१५ बजे नेपाल पुलिस क्लब र ललितपुर बीच हुनेछ। यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र वालिङ बीच हुनेछ।