अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गोप्य सूचनाहरु मिडियालाई दिनु अनुशासनहीन काम भएको बताएका छन्।
शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडिया दिने काम भएको आरोप लगाएका हुन्।
अर्थमन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन्।
कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्याइन्छ रु भन्दै प्रश्न गरे।
उनले राष्ट्र बैंकमा बदमासी भइराखेको र एक जना सञ्चालक समिति सदस्यले नै बार्गेनिङ गरेको सुनेको तर आधिकारिक कुरा आफूलाई थाहा नभएको बताए।
शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको उनले बताए। मन्त्री शर्माले पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खाले एकिन रेकर्ड पनि माग गरेका छन्।