चैत २५, २०७८ शुक्रबार

रूसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‌बाट निलम्बन गरिएको छ। राष्ट्रसंघीय महासभामा मतदान हुँदा रूसविरुद्ध पर्याप्त मत परेकाले परिषद्‌बाट रूस निलम्बित भएको हो।

युक्रेनमा आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिकार परिषद्‍मा बस्न रूसलाई दिन नहुने भन्दै निलम्बन गरिएको जनाइएको छ। महासभामा भएको मतदानमा रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो।

त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन्। रूसलाई मानवअधिकार परिषद्‌बाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गरे।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एकल्याउनु पर्नेमा जोड दिए। 'संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा रूसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुशी लागेको छ। राष्ट्रसंघीय महासभामा रूसविरुद्ध मतदान गर्नेहरूलाई धन्यवाद छ', राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा उल्लेख छ।

परिषद्‌बाट रूसलाई हटाउनु अन्तरराष्ट्रिय रूपमा अर्थपूर्ण घटना भएको पनि उनले बताए।