चैत २५, २०७८ शुक्रबार

सुर्खेत । सरकारले ४ दशक अर्थात् २०३९ सालपछि पहिलो पटक पूर्वी सुर्खेतका लालपुर्जा विहीन एकसे ३६ घरपरिवारले अन्ततः लालपुर्जा प्राप्त गरेका छन् । शुक्रवार भूमि समस्या समाधानका लागि गठित भूमि आयोगले सुर्खेतको गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका नागरिकलाई लालपुर्जा वितरण गरेको हो । आयोगले गुर्भाकोट नगरपालिकाको कोटमाझखर्कका ३४ घरपरिवारलाई लालपुर्जा वितरण गरेको छ ।


४० वर्षपछि लालपुर्जा पाउँदा साबिक सुर्खेतको मेहकुना गाउँ विकास समिति वडा नम्बर ७ का लीलप्रसाद शर्मा ४१ वर्षीय भए । उमेरले चार दशक काटेका शर्मा पहिलो पटक लालपुर्जा पाउँदा खुसी भएका छन् ।

यस्तै, भेरीगंगा नगरपालिका–८ का ६६ वर्षीय छविलाल राना फुरुङ्ग देखिन्थे । ६६ वर्षमा पहिलो पटक पुर्जा पाउँदा उनी उत्साहित भएका थिए । रानाका अनुसार लालपुर्जाका लागि २०३९ सालमा नापी कार्यालय सुर्खेतको नापी टोली भेरीगंगा पुगेको थियो ।

पहिलो चरणको प्रारम्भिक नापजाँचसहित जग्गाको एकिङ्ग तथ्यांक लिएर टोली फर्कियो । त्यस बेला रानाको पनि जग्गा लालपुर्जाका लागि नापिमा परेको थियो ।

लालपुर्जा पाइने भो भनेर खुसी भएका रानाले ४० वर्षसम्म पनि लालपुर्जा पाएनन् । जग्गाको नाप जाँच गरेर फर्किएको टोली गाउँ फर्कियो न त रानाले लालपुर्जा नै पाए । देशमा कति सरकार आए । कयौँ पटक लालपुर्जा पाइन्छ भन्ने हल्ला सुनियो तर, कसैले पनि लालपुर्जा दिएनन् । उनमा लालपुर्जा पाइने आस नै मरिसकेको थियो । तर, अहिले वषौँदेखि भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा पाउँदा आफू निकै खुसी रहेको रानाले बताए ।


यस्तै, भेरीगंगा नगरपालिकाका एक सय दुई घरपरिवारले लालपुर्जा पाएका छन् । जसमा दुईवटा नेपाल सरकारका नाउँमा पुर्जा जारी गरिएको छ । भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र जिल्ला अध्यक्ष श्रीधर पौड्यालले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् । सुर्खेतमा धेरै जसो नागरिक लालपुर्जा पाउनबाट बञ्चित छन् । २०३९ सालको भूमि आयोगले लालपुर्जा वितरण गरेको थियो । त्यसभन्दा पछाडि सुर्खेतमा कुनै पनि भूमि आयोग लागू हुन सकेको थिएन ।