काठमाडौँ । आगामी वर्ष छिमेकी मुलुक भारतमा हुने एकदिवसीय विश्वकपका लागि नेपालले तयारी गर्न थालेको छ । नेपाली टिमको टि-ट्वान्टी विश्वकप छनोटको यात्रा ग्लोबल छनोटमा नै रोकिएपश्चात् नेपालको नजर त्यतातर्फ परेको हो ।
नेपाल आगामी जुन, जुलाइमा यसै विश्वकपको छनोटका रूपमा रहेको आईसीसी लिग २ को तयारीमा रहेको छ ।
लिग २ मा नेपाललगायत अन्य ६ मुलुक प्रतिस्पर्धा गर्दै छन् । जुन मुलुकसॅंग एकदिवसीय मान्यता (नेपाल, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया, पपुवा न्यु गिनी, संयुक्त राज्य अमेरिका) रहेका छन् । लिग २ का हरेक शृङ्खलामा हरेक टिमले ४/४ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्न पाउँछन्। नेपालले हालसम्म ३ वटा यस्ता शृङ्खला खेलेकामा ऊ १२ अङ्कमा रहेको छ।
विश्वकप २०२३ का लागि छनोट यसप्रकार रहेको छ :
*विश्वकप छनोट हुनका लागि आईसीसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम रहनेछन् । आईसीसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकप खेल्ने छन् । सुपर लिगका बाँकी पाँच टिमले सन् २०२२ को विश्वकप छनोट खेल्ने छन् ।
*आईसीसी लिग २ मा एकदिवसीय मान्यता पाएका ७ टोलीले खेल्नेछन् । यस लिगमा नेपालसहित, युएई, स्कटल्याण्ड र डिभिजन २ बाट आएका ४ टोली (नामिबिया, ओमान, अमेरिका र पपुवा न्यु गिनी) खेल्नेछन् । शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्ने छन् । बाँकी ४ टोलीले विश्वकप छनोट प्ले अफ खेल्नेछन् । (लिग टुमा हालसम्म २८ खेलमा ३६ अंक सहित ओमान शिर्ष स्थानमा रहदा युएई १८ खेलमा २२ अंक सहित दोस्रो स्थानमा रहेको छ। स्कटल्याण्ड १३ खेलमा १८ अंक सहित तेस्रो स्थानमा रहदा नामिबिया १४ खेलमा १४ अंक र अमेरिका १६ खेलमा १४ अंक सहित क्रमश:चौथो र पाचौ स्थानमा रहेका छन्। नेपाल १२ खेलमा १२अंक सहित छैठौं र पिएनजी १७ खेलमा २ अंक सहित पुछारमा रहेका छन्। )
* च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरीयताका १२ टोलीले खेल्ने छन् । १२ टोलीलाई २ समूहमा विभाजन गरिने छ । दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउने छन् ।
*लिग २ बाट आएका ४ टोली र च्यालेन्ज कपमा शिर्ष २ मा रहेका ६ टोलिका बिचमा विश्वकप छनोट प्ले अफ हुनेछ।यसको शिर्ष २ टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन् ।
*सुपर लिगमा रहेका पुछारका ५ टिम ,लिग टुका शीर्ष ३ टोली तथा प्ले अफबाट आएका शीर्ष २ गरी १० टिम बिच विश्वकपको अन्तिम छनोट हुनेछ र यस प्रतियोगिताको शीर्ष दुई टोलीले विश्वकप खेल्ने छन् ।
यस विश्वकपको छनोटको रुपमा नेपालले खेलिरहेको विश्वकप लिग टुको शिर्ष ३ मा पर्न नेपालले अब खेल्न बाकी ६ शृखंलामा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ।
यस विश्वकप छनोटका लागि विभिन्न राष्ट्रले ३७२ छनोट खेल खेल्ने नियम आईसिसिले बनाएको छ। यसले तल्लो तहका राष्ट्रले समेत माथिल्लो स्तरको राष्ट्रसंग खेल्न पाउने अवसर पाउने बताईएको छ ।