चैत २८, २०७८ सोमबार

हिन्दुहरूले नवरात्र पर्वमा मांसहारी भोजन गर्दैनन् । आइतबार रामनवमी थियो । तर भारतको राजधानी नयाँदिल्लीमा रहेको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा आइतबार राति विद्यार्थीहरूलाई मांसाहारी खाना दिइएको भन्दै विद्यार्थीबीच झडप हुँदा केही घाइते भएका टाइम्स अफ इन्डियाले बताएको छ ।

आइतबार जेएनयू होस्टेलको मेसमा मासु पकाउने राष्ट्रिय स्वंयसेवक संघसँग आवद्ध अखिल भारतीय विद्यार्थी परिषद् र वामपन्थी विद्यार्थी संगठनबीच विवाद भएको थियो। दुबै पक्षले एक-अर्काले आफ्ना साथीहरूलाई आक्रमण गरेको आरोप लगाएका छन्।

वामपन्थी विद्यार्थीहरूले परिषद्का कार्यकर्ताले मेसमा मासु पकाउन रोकेको र मारपिट गरेको आरोप लगाएका छन् भने परिषद्का विद्यार्थीले रामनवमीको पूजा चलिरहँदा आक्रमण भएको बताएका छन्।

सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिर र भिडिओमा केही विद्यार्थीको शरीरमा चोट लागेर रगत बगेको देखिन्छ। नवरात्रको उपलक्ष्यमा नयाँदिल्लीका केही स्थानमा ९ दिनसम्म मासु बेच्न प्रतिबन्ध लगाइएको थियो।

दिल्ली उच्च अदालतले के खाने र नखाने भन्ने निर्णय सरकारी अधिकारीले गर्न नपाउने भने पनि ती स्थानका मासु पसल ९ दिनसम्म बन्द भएका थिए। नवरात्रमा मांसहारको त्यही विषय जेएनयूभित्र पनि पसेको थियो।