चैत २८, २०७८ सोमबार

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबार अवकाशमा गएका छन्।

खनाल अवकाशमा गइरहँदा सरकारले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुंगो लगाउन सकेको छैन। स्थानीय तहको निर्वाचन नजिकिइरहेका वेला प्रमुख सुरक्षा निकायमध्ये सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन हुन लागेको हो।

तर, सशस्त्र प्रहरीमा नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ। हाल एआइजी रहेका २ जनामध्येबाट सरकारले १ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने अवस्था छ।

२१ दिनका लागि नयाँ सशस्त्र प्रहरी महानिरीक्षकमा एआइजी पुष्पराम केसी र रामशरण पौडेलको दाबी छ। उनीहरू खनालकै ब्याचमेट हुन्।

उनीहरू उमेर हदका कारण वैशाख १९ मा अवकाशमा जाँदै छन्। त्यसपछि पुन: नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था छ, त्यही दिन नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षकसहित एआइजीहरू अवकाशमा जाँदै छन्।