चैत २८, २०७८ सोमबार

✍️विजयिता भण्डारी

अन्तिम प्रेमपत्र

 

छैन प्रेमपत्र लेखेको -

फूलेको फूलले
ओइलिएर झरेको फूललाई !

आधा बाटो साथ दिई छोडेर गएका नदीहरूले
सुख्खा त्यो बगरलाई !

 

तिमीले लेखेजस्तै

नाङ्गै बनाएर जाने पातहरूले
वृक्षलाई

पलपल मुटुसँग स्पर्श गर्ने हावाहरूले 
स्वासप्रस्वासलाई 

लेखेन प्रेमपत्र !

किन हो ?

नलेखेको कलमले
सकिएर
रित्तिएर
नि:स्वार्थ भर्ने कापीलाई
अन्तिम प्रेमपत्र


जून ताराहरूलाई
माया गर्ने रातले
कुनै बिहान लेखेन

घामले
ओभानो अक्षरले
दिनलाई कहिल्यै लेखेन
तिमीले झै अन्तिम प्रेमपत्र !


तिम्रो प्रेम
आकाश
धर्ती
हावा
पानी
दिन
रातभन्दा 
कयौँ गुणा फरक रहेछ !

र त  प्रेमको आगो बलेको छातिमा
परचक्री पाइलाहरूले थिचेर 
आमाको शिरमाथि 
दोष थुपारी 
कसैले नलेखेको लेखेऊ
अन्तिम प्रेमपत्र !

 


✍️ विजयिता भण्डारी
मेचीनगर नगर पालिका ४ झापा