चैत २८, २०७८ सोमबार

इस्लामावाद : पाकिस्तान मुस्लिम लिग-नवाजका नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चुनिएका छन् ।

संसद्मा सोमबार साँझ भएको मतदानमा बहुमत हासिल गर्दै शरीफ देशको नयाँ प्रधानमन्त्री चुनिएका हुन्। उनको विपक्षमा कुनै उम्मेदवार खडा भएको थिएन। उनले १७४ मत प्राप्त गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। बहुमतका लागि १७२ मत आवश्यक पर्छ। शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्री हुन्।

प्रधानमन्त्री चयनको मतदानलाई निर्वतमान प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई)ले बहिस्कार गरेको छ। संसद्को सबैभन्दा ठूलो दल पीटीआईका सबै सांसदले सामूहिक राजीनामा दिएका छन्।

नवनियुक्त प्रधानमन्त्री शहबाज भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। शहबाजकै अगुवाइमा विपक्षी दलले इमरान खानको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए।

उपसभामुखबाट प्रस्ताव रद्ध, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटनलाई सर्वोच्च अदालतले विहीबार उल्ट्याएर अगाडि बढाउन आदेश दिएपछि आइतबार मध्यराति अविश्वासको प्रस्तावमा मतदान भई पारित भएको थियो।

निवर्तमान प्रधानमन्त्री इमरान खानले भने विदेशीको षडयन्त्रमा विपक्षीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको भन्दै विदेशी हस्तक्षेपविरुद्ध लड्ने बताउँदै आएका छन्।

नवनियुक्त प्रधानमन्त्री शरीफले साँझ ८ बजे सपथ लिने बताइएको छ।