चैत ३०, २०७८ बुधबार

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन्। वरिष्ठतम् एआइजी केसीलाई गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले सशस्त्र महानिरीक्षक नियुक्त गरेको स्रोतले बतायो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली थियो। 

केसी अब १९ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन्। तीस वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जान्छन्। 

उनीसँगै एआइजी रामशरण पौडेल पनि केसीसँगै अवकाशमा जान्छन्। त्यसपछि सरकारले पुन: नयाँ आइजी नियुक्त गर्नुपर्ने हुन्छ। 

१९ दिनपछि सशस्त्र प्रहरी महानिरीक्षक जो बन्छन् उनी चार वर्ष पदमा रहन्छन्। अहिले डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच भावी महानिरीक्षकका लागि प्रतिस्पर्धा छ। 

सरकारले उनीहरूमध्ये एक जनालाई चाँडै एआइजी नियुक्त गर्नुपर्ने अवस्था छ। सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आइजी नियुक्त गर्न सकिने प्रावधान छ।