चैत ३०, २०७८ बुधबार

✍️ टेकराज कोइराला

दक्षिण एसियाका देशहरूमध्ये श्रीलङ्का आर्थिक सङ्कटको चरम अवस्थामा छ । तर सूचकाङ्क हेर्दा श्रीलङ्काको जस्तो अवस्था अन्य देशहरूमा पनि चाडै देखिनसक्ने अवस्था छ । 

कोरोना महामारी, युक्रेन सङ्कट र सरकारको कुशासन तथा असक्षमताले गर्दा दक्षिणी एसियाका अन्य मुलुकमा पनि सङ्कट देखिने अवस्था आइरहेको छ। दक्षिणी एसियाका देशहरूको कुरा गर्दा अफगानिस्तानमा तालिबान सत्तामा आइसकेपछि सङ्कटमै छ । 

राजनीतिक अस्थिरताका कारण पाकिस्तानमा पनि ठूलो सङ्कट आउने पक्का छ । यसैगरी नेपालमा गठबन्धन सरकारको अदूरदर्शिताले गर्दा आर्थिक सूचकाङ्क पनि निकै कमजोर देखिन्छन् ।

भुटान, माल्दिभ्स, बग्लादेश, भारतमा पनि महंगी बढेको नै छ । स्मरणीय छ, दक्षिण एसियाका अधिकांश मुलुकहरूमा अबको १-२ वर्षमा चुनाव पनि हुँदै छन् । 

आर्थिक सूचकाङ्क र सरकारहरूको लापरबाही हेर्दा अरब स्प्रिङ्ग २ (Arba spring 2) दक्षिण एसियाका मुलुकहरूमा हुन सक्ने प्रसस्त आधार छन्।


रुस र युक्रेनबीच जारी युद्ध के हुने भन्ने कुराको निक्योल अझै भइसकेको छैन । कोरोना महामारी फेरि फैलिनसक्ने सम्भावना पनि कायम नै छ। जसकारण चुनावको मुखमा आर्थिक सङ्कट हुँदा कम्तीमा दक्षिण एसियाका देशहरूमा अशान्ति बढ्ने, सुरक्षा चुनौती थप्ने र अकल्पनीय चुनावी नतिजा पनि आउन सक्ने अवस्था छ।

दक्षिणी एसियाका देशहरूमा पछिल्लो समय अमेरिका, भारत तथा चिन आफ्नो प्रभाव विस्तार गर्न निकै आक्रामक नीति लिरहेका छन्। यस क्षेत्रको अशान्तिले उत्पन्न हुने असुरक्षा (spiral effect) ले गर्दा शक्ति राष्ट्रहरू अझ आक्रामक हुने पक्का छ। यसले असोचनीय नतिजा पनि आउनसक्छ दक्षिण एसियामा ।

नेपाल सरकारले वैश्विक आर्थिक सङ्कटबाट हुने असरलाई कसरी कम गर्ने भनेर दीर्घकालीन रणनीतिहरू तत्काल अवलम्बन गर्दै बदलिँदो भूराजनीतिलाई ख्याल गर्दै सुझबुझपूर्ण ढङ्गले अगाडि बढ्नु नै उपयुक्त हुन्छ । अन्यथा गठबन्धन पनि ठूलो सङ्कटमा पर्ने निश्चित छ।


श्रीलङ्कामा आर्थिक सङ्कटका कारणले विभिन्न क्षेत्रहरूको अवस्था भयावह भएका समाचारहरू दिनानुदिन सुन्दै र पढ्दै आइरहेको छौँ । त्यहाँ अत्यावस्यक वस्तुहरूमा चर्को मूल्यवृद्धि, तेल, खाद्यान्न, तथा विद्युत्तको आपूर्तिमा निकै समस्या परिरहेको छ। 

त्यहाँका नागरिकहरू खाद्यान्न जोहो गर्नेदेखि लिएर खाना पकाउने ग्यास र इन्धनका लागि लाइनमा बसिरहेका दृश्यले मानिसहरू शताब्दीकै कठीन परिस्थितको सामना गरिरहेको देखाउँछ । आम मानिसहरू आफ्नो जीवनकै भयानक सङ्कबाट गुज्रिरहेका छन् ।

दक्षिण एसियाका मुलुकहरूमध्ये श्रीलङ्का मानव विकाश सूचकाङ्क, प्रतिव्यक्ति आय, शिक्षा, स्वास्थको पहुँच तथा रोजगार जस्ता सवालमा अन्य देशभन्दा निकै अगाडि रहेको थियो । तर अहिले श्रीलङ्का आफ्नो इतिहासको सबैभन्दा ठूलो सङ्कटबाट गुज्रिरहेको छ।

श्रीलङ्काको आर्थिक सङ्कटको मुख्य कारण श्रीलङ्काली सरकारको लापरबाही, कुशासन, कोरोना महामारी तथा पछिल्लो समय युक्रेनमाथि रुसको आक्रमणले 
वैश्विक आपूर्ति शृङ्खलामा पारेको असर हो भनेर विश्लेषकहरू बताउँछन् ।

श्रीलङ्का सङ्कटसँगै प्रश्नहरू उब्जिन थालेका छन् :

यो आर्थिक सङ्कट दक्षिण एसियाका देशहरूमध्ये श्रीलङ्कामा मात्र हो त ? 

अर्थतन्त्रका तथ्याङ्क तथा सूचकाङ्कले के भन्छन् ?

नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्सको अवस्था कस्तो छ? 

कुन देशको आर्थिक स्थिति बलियो छ, कुन देशको कति कमजोर छ ? 

यिनै प्रश्नहरूको समाधानस्वरूप यस भिडियोमा दक्षिण एसियाका मुलुकहरूको आर्थिक सूचकाङ्कहरूबारे तुलानात्मक विश्लेषण गरिनेछ ।

 

सबैभन्दा पहिले, देशको अर्थतन्त्रको महत्त्वपूर्ण सूचकाङ्क रहेको छ ऋण जीडीपी अनुपात-

ऋण जीडीपी अनुपात भनेको कुनै पनि देशले लिएको सम्पूर्ण ऋणलाई देशको सम्पूर्ण जीडीपीले भाग गर्दा आउने प्रतिफललाई जनाइन्छ । कुनै पनि देशको कम ऋण जीडीपी अनुपात छ भने त्यस देशमा उत्पादित वस्तु तथा सेवाले वैदेशिक ऋण सहजै तिर्न सकिने भन्ने अर्थ लाग्छ। यदि कुनै देशको ऋण जीडीपी अनुपात अधिक छ भने आफ्नो अर्थतन्त्रबाट उत्पादित वस्तु तथा सेवाले ऋण तिर्न सक्दैन वा आप्ठेरो पर्छ भन्ने अर्थ लाग्छ। 

सामान्यत: ऋण जीडीपी अनुपात ६० प्रतिशतभन्दा कम भएको राम्रो मानिन्छ । यद्यपि यसले मात्र समग्र अर्थतन्त्रबारे भन्नचाहिँ सक्दैन, अन्य अर्थतन्त्रका सूचकाङ्कहरू पनि महत्वपूर्ण हुने गर्दछन् । 

अहिले श्रीलङ्काको कुरा गर्ने हो भने श्रीलङ्काको ऋण जीडीपी अनुपात १११.४ % रहेको छ । त्यसैगरी दक्षिण एसियामा सबैभन्दा बढी माल्दिभ्सको १३३.३ प्रतिशत रहेको छ । भुटानको १२०. ६ % रहेको छ। यसरी इन्डिया, पाकिस्तान, नेपाल र बंगलादेशको क्रमशः ८८.८%,  ८०.९%,   ५२.७% र ३८ % रहेको छ । 

दक्षिणी एसियाली मुलुकमा सबैभन्दा कम ऋण जीडीपी अनुपात बंगलादेशको रहेको छ। यस हिसाबले बंगलादेश र नेपालको अन्य देशभन्दा राम्रो अवस्था रहेको देखिन्छ।

 


त्यसैगरी अर्को महत्वपूर्ण सूचकाङ्क हो, विदेशी मुद्रा सञ्चिति । विदेशी मुद्रा सञ्चिति भनेको देशमा सञ्चित अथावा उसले राखेको विदेशी पैसा हो। यसले मुख्यगरी देशको भुक्तानीलाई सन्तुलन राख्न, आफ्नो मुद्राको विदेशी विनिमय दरलाई प्रभाव पार्न र वित्तीय बजारहरूमा विश्वास कायम गर्ने काम गर्छ। जति धेरै विदेशी मुद्रा सञ्चिति भयो उति राम्रो मानिन्छ । दक्षिण एसियामा विदेशी मुद्रा सञ्चितिको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी भारतको रहेको छ । भारतको ६१७.६ बिलियन डलर रहेको छ। 
त्यसैगरू दोस्रामा बंगलादेशको ४५. ९ बिलियन डलर रहेको छ। तेस्रामा पाकिस्तानको १६. २ बिलियन डलर रहेको छ। चौथोमा नेपालको ११.७ बिलियन डलर रहेको छ। पाँचौमा श्रीलङ्काको २.३ बिलियन डलर रहेको छ।

सबैभन्दा कम माल्दिभ्सको ०. ८ बिलियन डलर रहेको छ। त्यसैगरी भुटानको पनि  १.६ बिलियन डलर रहेको छ। दक्षिण एसियामा भुटान र माल्दिभ्स अति कम जनसङ्ख्या भएका मुलुक हुन् । त्यसैले भुटान र माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति कम भए पनि त्यति आपत्‌कै अवस्था छैन भन्ने गरिन्छ । तर पाकिस्तान, नेपाल र श्रीलङ्काको जनसङ्ख्याको तुलनामा विदेशी मुद्रा सञ्चिति भने निकै कम हो । श्रीलङ्काको भयावह अवस्था आउनुमा विदेशी मुद्रा सञ्चिति घटेर अत्यावस्यक वस्तुहरूको आयात गर्न नै नसक्ने अवस्था आएको हो। त्यसैले पाकिस्तान, नेपाल र भुटानमा पनि अहिले अत्यावस्यक वस्तुहरूमा चर्को मूल्यवृद्धि भइरहेको छ भने श्रीलङ्कामा त सङ्कट नै आइसकेको छ।

विदेशी मुद्रा सञ्चितिसँग जोडिएको अर्को सूचकाङ्क हो, मुद्राको विनिमय दर । विनिमय दरले देशको पैसाको महत्त्व वा अन्य देशको तुलनामा कति बलियो छ भन्ने देखाउँछ ।

सामान्यत: विनिमय दर अमेरिकी डलरसँग तुलना गरिन्छ। विनिमय दरको तथ्याङ्क हेर्ने हो भने दक्षिण एसियामा सबैभन्दा कमजोर श्रीलङ्कन पैसा रहेको देखिन्छ। जसमा २९८ श्रीलङ्कन बराबर १ डलर हुने गर्दछ । त्यसपछि पाकिस्तानी रुपैया कमजोर रहेको छ। १ डलर बराबर १८४. ८ पाकिस्तानी रुपैया हुने गर्छ। त्यसपछि तेस्रो स्थानमा नेपाली रुपैयाँ रहेको छ। नेपाली १२१. ८ रुपैयाँ बराबर १ डलर हुने गर्दछ। दक्षिण एसियामा माल्दिभ्सको रुपैया बलियो मानिन्छ। १५. ५ माल्दिभियन रुपैया बराबर १ डलर हुने गर्दछ। यससँगै भारतीय ७६ रुपैयाँ बराबर १ डलर हुने गर्दछ। भुटानी र बंगलादेशी रुपैयाँ पनि नेपाली रुपैयाँभन्दा बलियो रहेका छन्। यसबाट पनि कुन देशको अर्थतन्त्र कति बलियो भन्ने कुरा छर्लङ्ग हुन्छ। 

विनिमय दर हेर्ने हो भने दक्षिण एसियामा श्रीलङ्का, पाकिस्तान तथा नेपाल निकै कमजोर देखिन्छन् । श्रीलङ्कासँगै यिनीहरूको अर्थतन्त्रमा पनि सङ्कट आउने आधारहरू रहेका छन्। दक्षिण एसियाका मुलुकमध्ये अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै त्यहाँको अर्थतन्त्र ध्वस्त भइसकेको अवस्था हो । अफगानिस्तानमा  संकटकै अवस्था छ । र अहिले श्रीलङ्का पनि चरम आर्थिक सङ्कटमा रहेको छ। त्यससँगै आर्थिक सूचकाङ्कअनुसार पाकिस्तान तथा नेपाल पनि सङ्कट उन्मुख रहेका छन्। सरकारले उचित कदम नचाले श्रीलङ्कामा मात्र नभई अन्य दक्षिणी एसियाली मुलुकहरू त्यसमा पनि पाकिस्तान र नेपालमा पनि सङ्कट आउने निश्चितप्राय: छ ।