लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
गएराति राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो। लिभरपुलले समग्रमा ६-४ को जित निकालेको हो। पहिलो लेगमा लिभरपुलले ३-१ को जित निकालेको थियो।
दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गरे। खेलको २१ औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए। ३२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई १-१ को बराबरीमा ल्याए।
खेलको ५५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए। ६५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए। खेलको ७३ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दा बेन्फिका ३-२ को स्थितिमा आयो।
त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो।
अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ।