काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको आयोगका एक अधिकारीले जानकारी दिए । दुवैलाई पत्र पठाएर ७ दिनभित्र आयोगका प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।
नेकपा (माओवादी केन्द्र)ले घिसिङको तस्बिर निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको थियो । सोही विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७८ को दफा ६ को खण्ड (क) मा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीसमेतले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ । घिसिङको तस्बिर चुनावी पोस्टरमा राख्नुले उक्त व्यवस्था उल्लंघन भएको आयोगको भनाइ छ । आयोगले किन कारबाही गर्न नपर्ने हो भन्नेबारे स्पष्ट पार्न भनेको छ ।
त्यस्तै, गण्डकी प्रदेशसभाका सभामुख अधिकारीलाई २०७४ सालको प्रदेशसभा निर्वाचनमा भएको खर्चबारे दिएको भनिएको अभिव्यक्तिलाई लिएर आयोगले प्रस्ट पार्न भनेको हो ।