गत वर्ष सेयर मूल्य उच्च हुँदा बजार प्रवेश गरेकाहरूको हालको अवस्था केलाउँदा कुल २ सय २९ धितोपत्र तथा इकाइहरू (स्क्रिप्ट) मा लगानीकर्ताहरूले २ सय २४ वटामा नोक्सान बेहोरिरहेका छन्। यो नोक्सान बजार मूल्यमा भएको परिवर्तनको आधारमा मात्रै हो।
लगानीकर्ताहरूलाई न्यूनतम ४.७६ प्रतिशतदेखि अधिकतम ६७ प्रतिशतसम्म नोक्सान भइरहेको यी स्क्रिप्टहरूको ५२ साताको उच्च मूल्य र हालको अन्तिम मूल्यको आधारमा देखिन्छ।
लगानीकर्ताले यसरी सबभन्दा धेरै नोक्सान नारायणी नेसनल डेभलपमेन्ट बैंकमा खेपिरहेका छन्। उच्च मूल्य एक हजार दुई सय ५१ रूपैयाँ हुँदा सेयर किनेका लगानीकर्ता अहिले ८ सय ४२ रूपैयाँ नोक्सानमा छन्। बैंकले एक बराबर एक अनुपातमा हकप्रद सेयर दिएको थियो। यो हकप्रद पाएपछिको अवस्थामा पनि लगानीकर्तालाई करिब ३५ प्रतिशतले नोक्सान भइरहेको छ।
मेगा बैंकको संस्थापक सेयर खरिद गरेकाहरू सबभन्दा कम नोक्सानमा छन्। एक सय २६ रूपैयाँमा यो सेयर किनेकाको मूल्य ६ रूपैयाँले घटेको छ।
गत वर्ष उच्च मूल्य र अन्तिम मूल्यको आधारमा सबैभन्दा धेरै गुमाउने कम्पनी
|
कम्पनी
|
उच्च मूल्यबाट गिरावट प्रतिशतमा
|
अन्तिम मूल्य
|
|
राधि विद्युत् कम्पनी
|
-५९.५३
|
५४२.२
|
|
कर्पोरेट डेभलपमेन्ट बैंक
|
-६०.१७
|
४६०
|
|
आइएमइ जनरल
|
-६०.१८
|
५८३
|
|
सम्वृद्धि फाइनान्स
|
-६०.५६
|
२८४
|
|
जनउत्थान सामुदायिक लघुवित्त
|
-६१.८२
|
२१००
|
|
एक्सेल डेभलपमेन्ट बैंक
|
-६४.१२
|
४२८.८
|
|
साल्ट ट्रेडिङ कर्पोरेशन
|
-६४.८४
|
४२९०
|
|
मन्जुश्री फाइनान्स
|
-६५.६६
|
५००
|
|
गोर्खाज फाइनान्स
|
-६६.६७
|
५००
|
|
नारायणी डेभलपमेन्ट बैंक
|
-६७.३
|
४०९.१
|
प्राविधिक विश्लेषण
बजार सूचक नेप्से परिसूचक २४ सयको मनोवैज्ञानिक विन्दुमा टेवा खोजिरहेको छ। यही क्रममा गत साता नेप्से २ हजार ३ सय ८५ विन्दुबाट फर्किएको छ।
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार अहिले पनि वियरिस (घट्दो) प्रवृत्तिमै छ। अहिले पनि २१ दिने मुभिङ एभरेज रेखा ७ दिनेभन्दा माथि छ। सातदिने रेखामाथि लाग्ने क्रममा २१ दिने रेखालाई काटेमा भने बुलिस (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ।
त्यस्तै १४ दिनको आरएसआई सूचकका आधारमा हेर्दा बजार अधिक बिक्री क्षेत्रमा रहेको देखिन्छ। यो सूचक स्केल २४.८९ मा छ। यद्यपि यसमा सुधार भइरहेको छ। गत मंगलबार यो सूचक १८.२५ मा थियो। यो सूचक ३० भन्दा तल रहे बजारमा बिक्री बढिरहेको, ७० भन्दा माथि भए बजारमा खरिददारी बढिरहेको र ३० र ७० को बीचमा रहे बजार सन्तुलित रहेको मानिन्छ।
नेप्सेको मैनबत्ती चित्र विश्लेषणले भने बजार घट्न रोकिने संकेत गरिरहेको छ। अन्तिम दिन बनेको सेतो (हरियो) मैनबत्ती चित्रले बजार घट्न रोकिएको संकेत गरेको हो। यद्यपि यो बलियो संकेत होइन। आइतबार बजार बढेर २४ सय ७१ विन्दु पार गरेमा भने बजार केही समय बढ्न सक्छ। जापानीहरूले बजारमा वस्तुहरूको मूल्य प्रक्षेपणका लागि प्रयोगमा ल्याएको मैनबत्ती विश्लेषण धेरै अघिदेखि सेयर बजारको प्रक्षेपणमा पनि प्रयोग गर्ने चलन छ।
दुई सातायताको पीभट विश्लेषणअनुसार आगामी दुई सातामा नेप्सेले २ हजार ५ सय १८ मा पहिलो लक्ष्य पाउने र त्यहाँबाट बजार घट्न थालेमा भने २ हजार ३ सय ३९ मा पहिलो टेवा पाउने भएको छ।
आधारभूत पक्षको कुरा गर्दा सूचीकृत संस्थाहरूको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने समय भएकाले नाफा-नोक्सानको प्रक्षेपणका आधारमा बजारमा मौसमी प्रभाव देखिने समय भएको छ।
विशेषतः संस्थाहरू नाफामै रहिरहने देखिएकाले अहिलेदेखि नै बजारबाट सेयर उठाउने प्रवृत्ति यसअघि पनि देखिँदै आएको छ। अर्कोतर्फ बैंकहरूले निक्षेपको ब्याजदरमा यसपटक पनि बृद्धि गरेका छैनन्। निक्षेपको ब्याजदर बजारमा प्रायः विपरीत सम्बन्ध हुन्छ। ब्याजदर बढ्दा बजार घट्छ र ब्याजदर घट्दा बजार बढ्छ।
बजारमा धेरैजसो कम्पनीको सेयर मूल्य उच्च तहबाट ६७ प्रतिशतसम्म घटेकाले धेरैलाई अहिले लगानीको अवसर पनि बनेको छ। चुनावी प्रचारप्रसार बढ्दै जाँदा अनौपचारिक क्षेत्रमा रहेको रकम बैंकिङ प्रणालीमा भित्रिने र अन्तिम त्रैमास सुरू भएसँगै सरकारी खर्चहरू बढ्ने भएकाले पनि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ।
यद्यपि बैंक तथा वित्तीय संस्थाहरूमा कायमै रहेको कर्जायोग्य पुँजी अभाव र विदेशी मुद्रा सञ्चितिमा भइरहेको ह्रासका कारण अर्थतन्त्रमा परेको दबाबलाई भने नजरअन्दाज गर्न नहुने देखिन्छ ।