नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३३ करोड रुपैयाँबराबरको संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपका रूपमा यही २०७९ वैशाख ९ गतेदेखि २०८० वैशाख ९ गतेसम्मका लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी मुद्दती निक्षेपका रूपमा राखिने कुल रकममध्येमा वाणिज्य बैंकहरूका लागि २६ करोड ४० लाख, विकास बैंकहरूका लागि चार करोड ९५ लाख र फाइनान्स कम्पनीहरूका लागि एक करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही वैशाख ६ गते गते साँझ ५ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्नेछ ।
रकम लगानीका लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा ९एनपीए० कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
