काठमाडौं : नयाँ वर्षको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ। गत वर्षको अन्तिम दिन बुधबार नेप्से दोहोरो अंकले बढेर सेयर बजारमा हरियाली छाएको थियो। सो दिन नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेर बन्द भएको थियो।
सो दिन सेयर बजार बढेपछि लगानीकर्ताहरु हौसिएका थिए। नयाँ वर्षमा राम्रो आम्दानी गर्ने आशमा बसेका लगानीकर्तालाई वर्षको पहिलो कारोबारले फेरि निराश बनाएको छ। आइतबार २२३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता सेयर १ अर्ब ४४ करोड ७२ लाख ३ हजार १८२ रुपैयाँमा खरिदबिक्री भयो। आज २९ हजार ४४ पटक कारोबार भयो।
यसदिन सेन्सेटिभ इण्डेक्स पनि ५.१२ अंकले घटेर ४५०.९७ विन्दुमा अडिएको छ।
कारोबारमा आएका सबै समूहको सूचक घटेको छ। वित्तीय समूहको सर्वाधिक २.३२ प्रतिशतले सेयर मूल्य ओरालो लाग्यो। यस्तै, जलविद्युतको २.२१ र होटल तथा पर्यटनको २.०३ प्रतिशतले सूचक घट्दा लगानी समूहको १.८८, अन्यको १.८२, जीवन विमाको १.५३, विकास बैंकको १.५८ प्रतिशतले घट्यो।
बाँकी अन्य समूहको पनि ०.२८देखि ०.९२ प्रतिशतसम्म सूचक घटेको हो।
कारोबार रकमका आधारमा यसदिन नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीले ५ करोड बढीको सेयर कारोबार गरी अग्रस्थानमा रहेको हो। यसैगरी ४ करोड बढीको कारोबार गरी अरुण भ्याली हाइड्रोपावर दोस्रो स्थानमा रह्यो। आइतबार एउटा मात्र कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेष्डो समृद्ध लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यसदिन हिमालयन उर्जा विकास कम्पनीको सूचक भने १० प्रतिशतले घट्यो।