काठमाडौँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्ली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको स्वीकार्छन् । भन्छन्, ‘चैत ५ देखि १५ गतेसम्म ग्यास आयातमा समस्या भयो । त्यसको प्रभाव अहिले बजारमा देखिइरहेको छ ।’ खास गरी पेट्रोलियम र एलपी ग्यास व्यवसायीले चैतमा ढुवानी कमिशन बढाउन माग राख्दै आपूर्तिमा समस्या सिर्जना गरेका थिए । सोही कारण यतिबेला बजारमा ग्यासको आपूर्ति व्यवस्थामा चाप परेको छ ।
सामान्य अवस्थामा नेपालभर दैनिक १ लाख वटा सिलिन्डर ग्यास खपत हुन्छ । यसका लागि डेढ करोड ग्यास सिलिन्डर बजारमा छन् । यस्तै, दैनिक ८० बुलेट हाराहारी ग्यास भारतबाट नेपालतर्फ भित्रिन्छन् । एउटा बुलेटमा १२ सय ५० वटा सिलिन्डर भरिने ग्यास बोकिएको हुन्छ । लगातार १५ दिनसम्म ग्यास आपूर्ति बिग्रँदा अहिलेसम्म बजारमा चाप परेको मल्ली बताउँछन् ।
यस्तै, संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी अबको एक सातासम्ममा ग्यास आपूर्ति सामान्य अवस्थामा फर्किसक्ने बताउँछन् । उनका अनुसार करिब १५ दिन सम्ममा बिग्रेको बजार व्यवस्था अहिले सामान्य अवस्थामा फर्किने क्रममा छ । यो पूर्ण रूपमा लयमा फर्कन थप साता दिन लाग्ने र त्यसपछि सामान्य बन्ने भण्डारीको भनाइ छ । गर्मी यामलाई ग्यासको अफसिजन समेत भनिन्छ । जाडो यामको तुलनामा गर्मी याममा ग्यासको खपत कम हुने गरेको संघको भनाइ छ ।
नेपाल आयल निगमका प्रवक्ता विनीमणि उपाध्याय चैतमा व्यवसायीले ग्यास नउठाउँदा आपूर्ति व्यवस्थामा समस्या आएको जानकारी दिए । उनले व्यवसायीले नउठाउँदा गत महिनामा ३७ हजार मेट्रिक टन मात्रै एलपी ग्यास आयात भएकाले आपूर्तिमा चाप परेको बताए । नेपालमा मासिक औसतमा ४५ हजार मेट्रिक टन ग्यास आयात हुन्छ । गत महिनाको चाप धान्न निगमले हाल दैनिक १२० देखि १३५ बुलेट ग्यास आयात गरिरहेको उपाध्यायको भनाइ छ । यसअघि, निगमले दैनिक औसतमा ८० बुलेट ग्यास आयात गर्थ्यो ।