बैशाख ७, २०७९ बुधबार

विद्याश्री सिंह, जाजरकोट

छाडा आइमाई

सधैँ निहुरीरहने परेला
कहिल्यै ठाडो भएर उभिन नजानेको गर्दन
मेरो आदर्श होइन

मलाई आँखाहरूको संवाद मनपर्छ
उसका अश्लील नजरहरूले चिमोठ्न खोजे
मेरो वदनको कुनै हिस्सा
मेरा नजरहरूले पनि लगाउन सक्छन् थप्पड
दुख्ने गरी उसको पुरुषत्त्वमाथि

त्यसैले
म अराजक हुँ

आमाको रातो फरीया
बज्यैको ढाकाको चोलो
बहुतै मनपर्छ मलाई

तर
मलाई 'बा' ले जस्तै कालो कोट लगाउन पनि मन पर्छ
भाइका जस्तै छोटा कपडाहरूमा पनि मलाई म सुन्दर लाग्छ
मलाई मेरा नाङ्गा तिघ्राहरू कहिल्यै अश्लील लागेनन्

 त्यसैले
मलाई कहिल्यै संस्कारी भनिएन

मेरो छातीलाई छोएको छ घामको न्यानोले
मेरो कम्मरले पनि महसुस गरेको छ हावाको स्पर्श
मैले मेरा गुप्ताङ्गहरूमा राखेको छैन मेरो अस्मिता
 
त्यसैले
समाजले अश्लील पनि भन्छ मलाई

सहरको सुनसान गल्लीहरूबीचमा
एक्लो छ मेरो आश्रयस्थल
जहाँ एक्लै हुर्किरहेको छ मेरो यौवन

त्यसैले
समाजलाई शंका छ मेरो कुमारीत्वमाथि

मलाई मनपर्छ
बीच बाटोहरूमा समाएर हिड्न उसको हात
तर गन्तव्यसम्म एक्लै पुग्नसक्ने मेरो सामर्थ्यमाथि 
घमण्ड पनि छ मलाई

हो,
म धेरै प्रेम गर्छु आफ्नाहरूलाई
तर आफूलाई जति गर्दिन

 त्यसैले
बेलाबखत जिज्ञासा पनि भेटिन्छन्
मेरो हेरचाहलाई लिएर

समाजले ओढाएको लाजको चादरभित्र 
झुकेर बस्न मान्दैनन् यी नजरहरू

पितृसत्ताले लगाएको पर्खाल तोडी
परम्पराको परिधिभन्दा पर दौडिएर 
सपनाको उडान भर्न रुचाउँछन् यी पैतालाहरू

आमाको मुस्कान जस्तै कोमल यो हृदय
आमामाथि भएको दमन जत्तिकै कठोर पनि छ
दुखाउनेहरूलाई मेटाउँदा
दुख्दैन मलाई

हो
मेरा निडर आँखा
नाङ्गा तिघ्रा
खुल्ला छाती
बाक्लो संगत
चर्को हासो
अनि भड्किलो आवाजका कारण 
समाजले परिभाषित गरेकी 'छाडा आइमाई' हुँ म !

 

विद्याश्री सिंह, जाजरकोट