बैशाख ७, २०७९ बुधबार

काठमाडौँ : फागुनसम्म २७ वाणिज्य बैंकले ४६ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले आठ महिनाको तथ्यांक सार्वजनिक गर्दै नाफाबारे जानकारी दिएको हो। यद्यपि बैंकहरू भने चालू आवको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनको अन्तिम तयारीमा जुटेका छन्। तर त्रैमासिक वित्तीय विवरणमा नाफाको यकिन तथ्यांक आउने बैंकर बताउँछन्।


प्रायः नाफामा धेरथोर फड्को मार्दै आएका वाणिज्य बैंकले गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा चालू आवको सोही अवधिमा १२.४१ प्रतिशत वृद्धि गरेका छन्। कोभिडले अधिकांश क्षेत्र अस्तव्यस्त भए पनि व्यवसाय फस्टाउँदै जाँदा बैंकमा साँवा तथा ब्याज भुक्तानी गर्ने ऋणी पनि बढेकाले बैंकको नाफामा सुधार भएको बैंकर बताउँछन्। चालू आवको फागुनसम्म सबैभन्दा नाफा गर्ने ग्लोबल आईएमई, एनआईसी एसिया र नबिल बैंकले गरेका छन्। ग्लोबल आईएमई बैंकले ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्रैमासिक तथ्यांकमा जस्तो आठ महिनाको तथ्यांकमा नाफा तथा घाटा प्रावधान (लोन, लस प्रोभिजन) राखिएको नहुने भएकाले नाफाको यकिन तथ्यांक नआउने ग्लोबल आईएमईका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बताए।  यस अवधिमा अपेक्षाअनुसार ब्याज उठ्न नसकेको उनको भनाइ छ।

उनी भन्छन्, ‘आजकल कर्जाको माग अत्यधिक भए पनि दिन सक्ने क्षमता छैन। यसैले गर्दा तेस्रो त्रैमासमा सोचेजस्तो रिकभरी भएको छैन। बजार चलायमान भए पनि बैंकसँग पैसा नहुँदा यस्तो देखिएको हो।’ अझै लगानीयोग्य पुँजी अभावको समस्या कायम रहेको उनले बताए। 

यस अवधिमा एनआईसीले ३ अर्ब २९ करोड ५४ लाख रुपैयाँ कमाएको छ। बैंकले प्रवाह गरेको कर्जाको आकार बढी भएको र सावाँ तथा ब्याजसमेत राम्रै उठेकाले सन्तोषजनक नाफा कमाउन सफल भएको एनआईसीका सहायक सूचना अधिकारी अर्जुनराज खनियाँले बताए। ‘बैंकले कृषि, विभिन्न व्यवसायमा बढी कर्जा दिएको छ। व्यक्तिगत घर कर्जामा पनि राम्रो लगानी छ। यस्ता कर्जाको ब्याज तथा किस्ता भुक्तानीमा समस्या आएन। यसकारण अरू बैंकको तुलनामा बढी उठाउन सकेका छौं,’ उनले भने। 

बैंकको हालसम्म ६० हजार ऋणी र २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको उनले बताए। अन्य बैंकको तुलनामा यस बैंकको कर्जा प्रवाह अधिक देखिन्छ। यसैगरी नबिल बैंकले ३ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ। अरू बैंकले तीन अर्बभन्दा कम नाफा कमाएका छन्। आधा दर्जन बैंकले दुई अर्बभन्दा माथि ३ अर्बभन्दा कम नाफा गर्न सफल भएका छन्। सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको तथ्यांकमा छ।