बैशाख ९, २०७९ शुक्रबार

कविता : आऊ हामी सम्भोग गरौँ !
ए मूर्ख आइमाई !

ट्वाल्ल परेर नबस

संसार आफ्नै सुरमा कुदिरहेको छ ।

- उसको आफ्नै वेग छ

 -उसको आफ्नै वेद छ ।

यसो गरौँ

आऊ ओछ्यान मिलाऊँ !

हावामा हावासँग हावा हुँदै

आगामा आगोसँग आगो हुँदै

ग्रामीण बस्तीको चौतारी

देवालय - शौचालय भत्काउँदै जोसुकै हिँडोस् ।

जोसुकै हिँडोस् -

बहुरङ्गी नाराका उत्तेजनाहरू फलाक्दै

आऊ -

हामी यो एकान्तमा निर्विचार - निर्वस्त्र उभिऊँ !

ए निरक्षर आइमाई !

- कुटनीतिको कुनै स्पष्ट भाषा हुँदैन ।

- राजनीतिको कुनै प्रष्ट व्याकरण हुँदैन ।

आऊ -

तन्ना ओछ्याऊँ !

हिंस्रक विचारको अघिपछि पछिअघि गरिरहन

हामीसँग फुर्सद नै कहाँ छ र ?

हामी त -

यो युगको अन्तिम जोडी हौँ ।

हामीसँग -

गर्भाशयमै मरेका शिशुहरू छन्

वृद्ध पृथ्वी

रोगी सभ्यता

र / प्रशस्त अपूरणीय क्षतिहरू छन् ।

हामीसँग -

कुहिएका फूल

डढेका सपना

र / प्रशस्त अवर्णनीय पीडाहरू छन् ।

हामीसँग-

फुटेका आँखा

भाँचिएका खुट्टा

छिनालिएका टाउका

र / टुक्राटुक्रा शरीरहरू छन् ।

- हामीसँग एउटा अर्थहीन उपस्थिति छ

- हामीसँग एउटा अर्थपूर्ण अनुपस्थिति छ !

हामीलाई -

आकाशका अवशेषहरू बटुल्दै

निर्माण गर्नु छैन अर्को आकाश

तारापुञ्जहरूमा नियोजित प्रकाश छरेर

थप्नु छैन अर्को तारा ।

बितेर गएको इतिहासको छातीमा लेख्नु छैन -

असत्यको आधुनिक कथा !

हामी त -

नदीका अविरल सन्तानहरू हौँ ।

किनारामा जीवन पर्खेर किनारामै खरानी हुनु -

हामीलाई किमार्थ स्वीकार्य छैन ।

मत्स्य - जुनीको काल्पनिक पोखरीमा

लास जस्तो तैरिएर कति छचल्किनु ?

- हामीलाई पुग्नुछ सत्यको - शान्त चिहान !

ए दिग्भ्रमित स्त्री !

आऊ -

यो आदिम जङ्गलमा कामदेवको प्रार्थना गरौँ

आऊ -

तिम्रो सनातन योनीको अनुष्ठान गरौँ

आऊ -

मेरो प्राचीन लिङ्गको आराधना गरौँ ।

ए लाटी !

यो भीडले कुल्चेर गएको बहुल पाइतालाहरूमा

कति बाटाहरू पुरिएका छन्?

- कति यात्राहरू पुरिएका छन्?

- कति यात्रीहरू पुरिएका छन्?

अङ्कहरूको अन्तिम गन्तव्य शून्यता हो

आऊ -

मौनताको अनन्त गहिराइमा समाधिस्थ होऔँ !

आऊ -

हामी नसुने जस्तो गरौँ

आऊ -

हामी नदेखे जस्तो गरौँ

आऊ -

हामी नबोले जस्तो गरौँ

आऊ -

हामी नभए जस्तो गरौँ ।

यो ब्रम्हाण्डमा अस्तित्वका असङ्ख्य विरोधाभासहरू छन्

- असङ्ख्य ईश्वरहरू छन्

- असङ्ख्य धर्म र / व्याख्याहरू छन्

- असङ्ख्य वाद र / सिद्धान्तहरू छन्

- असङ्ख्य भ्रम र / रहस्यहरू छन्  ।

आऊ -

प्रेम बिर्सेर आऊ

आऊ -

कुण्ठा बिर्सेर आऊ

आऊ -

सम्पूर्ण आगत / विगत र / जगत बिर्सेर आऊ ।

ए पतित नारी !

आऊ -

यो पतित पुरुषको अङ्गालोमा आऊ

- जिब्रो चाटौँ

- कान टोकौँ

- शरीरमाथि शरीर घिसारौँ ।

हामी ठीक त्यसरी नै स्खलित होऊँ

जसरी -

ईश्वर आफ्नो धर्मबाट स्खलित हुन्छ

जसरी -

प्रकृति आफ्नो नियमबाट स्खलित हुन्छ

जसरी -

सरकारहरू आफ्नो दायित्वबाट स्खलित हुन्छन् !

ए पवित्र नारी !

- आऊ हामी सम्भोग गरौँ !


श्याम बलामी 'मौन आवाज'को कविता - आऊ हामी सम्भोग गरौँ !