दाङ — दाङको लमहीस्थित एक मस्जिदभित्र झडप हुँदा ५ जना घाइते भएका छन् । मस्जिद व्यवस्थापन समिति अध्यक्ष जमात अलीको राजीनामाको विषयलाई लिएर सुनन्त फैजाने रजा मस्जिदमा शुक्रबार दिउँसो नवाज पढिरहेको बेला दुई समूहबीच झडप हुँदा उनीहरू घाइते भएका हुन् ।
झडपका क्रममा चक्कु र इँटा प्रहारबाट दुवै समूहका व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । उनका अनुसार घाइते हुनेहरूमा लमही नगरपालिका ५ का ६४ वर्षीय गुठे कुरेसी, ३३ वर्षीय असरद अली, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ र २५ वर्षीय कमाल अली छन् ।
घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । अहिले प्रहरीले दुबै पक्षबीच छलफल गराइरहेको उनले जानकारी दिए ।