बैशाख ९, २०७९ शुक्रबार

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले साउथ सुडानमा जाने नेपाल फम्र्ड पुलिस युनिटको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिदाइ गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी बलको तर्फबाट शान्ति मिसनमा जाने टोलीको शुक्रबार बिदाइ गरेका हुन् ।


उनले सशस्त्र प्रहरीले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास व्यक्त गरे । महानिरीक्षक केसीले टोलीलाई संयुक्त राष्ट्रसंघीय मिसनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाति, भाषा, धर्म र लिङ्ग नभनी विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न  निर्देशन दिए ।


कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जना जुनियर अधिकृत र विल्लादार जवानहरू गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु वैशाख १२ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।