कुकुर मारेको आरोपमा १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई कुकर मारेको आरोपमा बिहीबार पक्राउ गरेको हो।
चैत १८ गते पोखरा-१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झुण्ड्याएर मारेको आरोप छ।
झुण्ड्याएर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओसमेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको कार्यालयले जनाएको छ।
अनुसन्धान गर्दा उनको मोबाइल तथा उनको फेसबुकमासमेत उक्त भिडिओ पाएको प्रहरीले जनाएको छ।
‘अहिले किन मारेको हो भन्ने खुलेको छैन। हामीले बयान लिन पाएका छैनौं,’ कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले भने, ‘सामाजिक सञ्जालमा उनले आफैंले भिडिओ हालेका थिए। हामीले देखेपछि अनुसन्धान गरेर पक्राउ गरेका हौं।’
उनीमाथि पशुपंक्षीसम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत कास्कीबाट ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।