बैशाख ११, २०७९ आइतबार

गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेपछि क्षति भएका संरचना निर्माण गरेर मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौँका घरघरमा पठाइने भएको छ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरू हुनेछ।

गत चैत २९ मा मेलम्चीबाट पानी काठमाडौं पठाउन सुरू गरिएको थियो।

गत माघ १४ गतेदेखि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो। दुई महिनामा मर्मत सकेर पानी काठमाडौं ल्याइएको छ।

मेलम्चीको पानी काठमाडौं आएपछि यहाँ देखिएको पानी संकट समाधान हुने मन्त्री चौधरीले बताउने गरेका छन्। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।

यसअघि ०७७ चैतमा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन्।