बैशाख ११, २०७९ आइतबार


कञ्चनपुर । नेकपा एमालेका नेता तथा सांसद सवार सरकारी जीप र म २ प ९९६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ५ वनसमिति नजिक बागमती प्रदेश १३७६ नम्बरको जीपले ठक्कर दिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार घाइते हुनेमा वेदकोट नगरपालिका सुन्दरपुरका राजकुमार राना र करन राना रहेका छन् । घाइतेहरूको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको छ ।

जीपमा एमालेका सांसद दिपकप्रकास भट्ट, निरूदेवी पाल, नरबहादुर धामी र भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट सवार रहेको बताइएको छ । जीप सशस्त्र प्रहरी ३५ नम्बर गण वनसमितिमा राखिएको छ ।