बैशाख ११, २०७९ आइतबार

दार्चुला — नौगाड गाउँपालिका–३ स्थित गोगनेमा एक महिलाको मृत्यु भएको छ । नेकपा एमालेले उम्मेदवारी दर्ताका लागि निकालेको जुलुसमा सहभागी नौगाड गाउँपालिका–२ सुण्डमुण्डकी करिब ५५ वर्षीया पाना टमटाको मृत्यु भएको खार स्वास्थ्य चौकीले जनाएको छ । 

स्थानीय रघुवीर ठगुन्नाका अनुसार मनोनयन दर्ता गर्न सुण्डमुण्डबाट बाजागाजासहित नाच्दै (छलो) खेल्दै जाने बेला जामिरको सरद्वारीको सडकमै लडेर बेहोस भएकी थिइन् । बेहोस भएकी टमटालाई बोकेर खार स्वास्थ्य चौकीमा नपुगाउँदै बाटोमै मृत्यु भएको स्वास्थ्य चौकी इन्चार्ज गोविन्दसिंह ठगुन्नाले बताए ।

स्थानीय रघुवीरका अनुसार अस्पताल लैजान गाडी नपाएपछि पिठ्युँमै बोकेर एक घण्टाको उकालो खार स्वास्थ्य चौकी पुर्‍याए पनि बाटोमै मृत्यु भएको हो । नौगाड गाउँपालिकामा आइतबार नेकपा एमालेले आफ्नो दलको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएको छ ।