युरोपियन च्याम्पियन्स लिगमा मंगलबारबाट सेमिफाइनलका खेल शुरु हुँदै छन्। सेमिफाइनलको पहिलो लेगमा इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले स्पेनिस लिग लिडर रियल म्याड्रिडको सामना गर्दै छ।
दुबै टोली एक अर्काविरुद्ध पहिलो लेगमै बलियो बन्ने लक्ष्यमा रहेका छन्। च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल पछिल्लो समयको स्टार खेलाडीले भरिएको सिटीविरुद्ध संयमित रहन चाहन्छ।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार १२:४५ मा शुरु हुने छ। सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले आफ्नो क्लबलाई नयाँ इतिहास बनाउनका लागि अब दुई खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने चुनौती रहेको बताए।
प्रिमिय लिगमा लिभरपुलसँग कडा भिडन्तमा रहेको सिटी तुलनात्मक रूपमा ला लिगामा उपाधि नजिक रहेको रियलसँग स्वभाविक लयमा घरेलु समर्थकलाई खुसी दिने लक्ष्यमा हुने छ।अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग १-० ले पराजित हुँदै उपाधिविहीन बनेको सिटी यो पटक फाइनल जिंक तोड्ने लक्ष्यमा रहेको छ।
सिटीका प्रशिक्षक ग्वार्डियोलाले रियल उत्कृष्ट टिम भनिरहनु नपर्ने भन्दै भने‚ "रियल कति राम्रो टिम हो भनेर भनिरहनु पर्दैन। यद्यपि हामि ११ विरुद्ध ११ का रूपमा विपक्षीलाई हेर्छौं।" उनले सिटीलाई जितबाहेकको विकल्प नरहेको समेत बताए।'हामीलाई हाम्रो मैदानमा हाम्रा समर्थकमाझ जितबाहेकको विकल्प छैन'‚ सिटी लगातार तेस्रोपटक सेमिफाइनलमा पुगेको हो। यता रियल पछिल्ला १२ सिजनमा १० औं पटक सेमिफाइनल खेल्दै छ तर सन् २०१८ पछि रियल पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको थियो जतिबेला रियल लिभरपुलसँग ३-१ ले पराजित भएको थियो।
दुई टिम अन्तिम पटक सन् २०१९ र २० को सिजनमा अन्तिम १६ मा भिडेका थिए। जसमा सिटीले रियललाई पहिलो २-१ ले हराएको थियो भने दोस्रो लेगमा पनि २-१ ले नै हराउँदै समग्रतमा ४-२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। घरेलु मैदानमा सिटी रियलसँग अहिलेसम्म एक खेल पनि हारेको छैन। जसमा उसले तीन खेल खेल्दा एक जितेको छ भने दुई बराबरी खेलेको छ।
च्याम्पियन्स लिगमा यी दुई टिम पाँचपटक खेल्दा दुई खेल सिटी र दुई खेल रियलले जितेका छन्। सिटी उत्कृष्ट फर्ममा रहेका स्ट्राइकर करिम बेन्जिमाको लय तोड्दै आफ्ना स्टारको गोलको प्रतीक्षामा रहेको छ। पछिल्लो पटक उत्कृष्ट लयमा देखिएका बेन्जिमाले लगातार दुई च्याम्पियन्स लिग खेलमा ह्याट्रिक लिँदै सनसनीपूर्ण प्रदर्शन गरेका थिए।