काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि छानबिन गर्न गठन गरेको समितिको वैधानिकता र निलम्बनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा दोस्रो दिन पनि सुनुवाइ जारी रह्यो ।
अन्तरिम आदेशका लागि यसअघि मंगलबार सुनुवाइ भएको थियो । मंगलबारको सुनुवाइमा अधिकारीको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । बिहीबार सरकारी पक्षका कानुन व्यवसायीले सुनुवाइमा भाग लिएका थिए ।
सुनुवाइ जारी रहेकाले शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
अधिकारी पक्षका कानुन व्यवसायीले गभर्नरको कार्यकाल निश्चित भएकाले हटाउन नमिल्ने, गभर्नरलाई पूर्वअवस्थामा कारबाही गर्न नमिल्ने र छानबिन समितिको वैधानिकतामाथि प्रश्न उठाएका थिए । सरकारी पक्षका कानुन व्यवसायीले भने कानुनअनुसार नै छानबिन समिति गठन गरेको भनेर मन्त्रिपरषद्को निर्णयको बचाउ गरेका थिए ।