इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको उपाधि होड उत्कर्षमा छ।
शनिबारको खेलमा म्यानचेस्टर सिटीमाथिको दबाब कायम राख्ने क्रममा लिभरपुल न्युकासललाई १–० ले पराजित गर्दै केही घण्टा अंक तालिकामा शीर्ष स्थानमा रह्यो। तर मध्यरातमा भएको अर्को खेलमा सिटी लिड्स युनाइटेडलाई ४–० ले पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किन सफल भयो।
लिभरपुललाई जित दिलाउन नेबी केइटाले गरेको एक मात्र गोल निर्णायक बन्यो। उनले १९ औँ मिनेटमा गरेको एक मात्र गोल लिभरपुललाई तीन अंक दिलाउन महत्त्वपूर्ण रह्यो।
म्यानचेस्टर सिटी सुरुवातबाटै लिड्सविरुद्ध दबाब बनाउन सफल भयो। पहिलो हाफमा रोड्रिको गोलमार्फत १३ औँ मिनेटमा अग्रता बनाएको सिटीले दोस्रो हाफमा तीन गोल गरेको थियो।
नाथन एकेले ५४ औं मिनेटमा अग्रता दोब्बर पार्दा गाब्रियल जेससले ७८ औँ मिनेटमा तेस्रो गोल गरे। टिमका लागि चौथो गोल फर्नान्डिन्होको नाममा रह्यो। उनले अतिरिक्त समयमा गोल गर्दै सिटीको रवाफिलो जित निश्चित गरे।
खेलपछि ३४ खेलबाट सिटीले ८३ अंक जोड्दा लिभरपुलले ८२ अंक बनाएको छ।