बैशाख १८, २०७९ आइतबार

मन्त्रिपरिषद् बैठकले आज नेपाल प्रहरी र सशस्त्र प्ररहरीको  महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

नेपाल सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आइजिपी)मा राजु अर्याललाई नियुक्त गरेको छ भने नेपाल प्रहरीको आइजिपीमा धिरजप्रचनप सिंहलाई नियुक्त गरेको जनाइएको छ ।

प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए। 

२०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदै छन्।


त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।   


यस्तै गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो। गत मंगलबारको मन्त्रिरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेसँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए। 

गत चैत ३० गते पुष्पराम केसी आइजिपी भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमा अर्थात भोलिबाट अनिवार्य अवकाश पाउँदै छन्। 

सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ। 

अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत् अर्यालसँग प्रदेश-२ बाहिनी र उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ।

त्यस्तै विभिन्न देशको शान्ति मिसनमा समेत उनले नेतृत्व गरेका छन्। सशस्त्र प्रहरी बल‍ प्रवक्ताको रूपमा काम गरिसकेका अर्याल सबैतिर राम्रो सम्पर्क भएका कमाण्डरका रूपमा चिनिन्छन्।