काठमाडौं : एमनेस्टी इन्टरनेसनलले कतारमा रहेका आप्रवासी कामदारमाथि शोषण भइरहेको जनाएको छ । कतारले विश्वकप आयोजनाको अधिकार पाएपछिको समयमा आप्रवासी श्रमिकमाथि शोषण भइरहेको एमनेस्टी इन्टरनेसनलले आरोप लगाएको हो ।
विश्वकप आयोजनाका लागि भौतिक निर्माणमा खटिएका कामदारले निकै कष्ट भोगिरहेको एम्नेस्टीले जनाएको छ । उसले विश्व फुटबल महासंघ (फिफा) लाई एक पत्र लेख्दै अन्तर्राष्ट्रिय मानवअधिकार अन्तर्गतको आफ्नो दायित्वहरू पूरा गर्न समेत आग्रह गरेको थियो ।
एम्नेस्टीले संयुक्त राष्ट्रसंघको व्यापार र मानवअधिकार सम्बन्धी मार्गनिर्देशक सिद्वान्तअनुसार फिफाले विश्वकप आयोजना गर्ने क्रममा विश्वकप परियोजना र स्थलहरूमा स्वतन्त्र र नियमित अनुगमन गर्नुपर्ने जनाएको छ ।
साथै प्रतियोगितासँग जोडिएका मानवअधिकार ज्यादतीका घटनाहरूको पहिचान र निवारणका लागि उचित रखवारी गर्नसमेत अनुरोध गरेको छ । त्यसैगरी, श्रमिकहरुले अहिलेसम्म भोगेको हानिको पनि फिफाले सम्बोधन गर्नु पर्ने एमनेस्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘आप्रवासी श्रमिकहरूमाथि कतारको अत्याधिक निर्भरता र त्यहाँको शोषणयुक्त श्रम प्रणालीका कारण जब फिफाले कतारमा विश्वकप आयोजना गर्ने निर्णय गयो उसलाई पक्कै थाहा थियो वा जानकारी हुनु पर्ने थियो कि उक्त निर्णयमा मानवअधिकार सम्बन्धी जोखिमहरू निहीत छन्,’
कतारले सुधारका कार्यक्रमहरु ल्याएको भए पनि त्यसको कार्यान्वयन पाटो फितलो भएको एमनेस्टीको भनाइ छ । ‘विद्यमान सुधार कार्यक्रमहरूलाई गम्भीरताका साथ कार्यान्वयन गर्न र श्रमिकहरूले प्राप्त गरेका नयाँ अधिकारहरूलाई छिन्ने खालको प्रस्तावहरूलाई अस्विकार गर्न फिफाले कतारसँग आफ्नो अवाज दरिलोसँग उठाउनु पर्दछ,’ एमनेस्टीको विज्ञप्तिमा भनिएको छ ।
एमनेस्टी इन्टरनेसनलले सुधारका कार्यक्रम ल्याएर मात्र नहुनै भन्दै आप्रवासी ती सुधारका कार्यक्रमहरूलाई गम्भीरताका साथ कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ । विश्वकप छनोट प्रतियोगिता सुरु हुन अगाडि नै एम्नेस्टीले आप्रवासी श्रमिकहरुमाथिको दुव्र्यवहार अन्त्य गर्न फिफालाई अनुरोध गरिसकेको थियो ।
अहिले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई लेखिएको पत्रमा एम्नेस्टीले मानवअधिकारका जोखिमहरूलाई रोक्न, न्यूनीकरण गर्न र समाधान गर्नका लागि आफ्नो जिम्मेवारी अनुरूप गर्न र कतारलाई आफ्नो श्रम सुधारका कार्यक्रमहरू विश्वकप प्रारम्भ हुनुभन्दा अगावै पूरा गराउन आह्वान गरेको छ ।
विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएपछि बढ्दो छानबिनको प्रतिक्रियामा कतारले हालैका वर्षहरूमा धेरै सकारात्मक सुधारहरू ल्याइसकेको छ । तर यी सुधारहरू प्रायः राम्रोसँग कार्यान्वयन हुँदैनन् र हजारौँ आप्रवासी श्रमिकहरूमाथि शोषण र दुव्र्यवहार जारी रहेको एमनेस्टीले जनाएको छ ।
कतारको श्रमशक्तिको ९५ प्रतिशत हिस्सा आप्रवासी श्रमिक रहेका छन् । यी आप्रवासी श्रमिकबिना विश्वकप सम्पन्न हुने सम्भावना नरहेको भन्दै रंगशाला र सडकदेखि आतिथ्यता र सुरक्षा क्षेत्रसम्म पनि हजारौँ माइलको यात्रा गरी आफ्नो परिवार धान्नका लागि आएका श्रमिकको कडा मेहेनतमा यो प्रतियोगिता निर्भर रहेकाले यसतर्फ ध्यान दिनुपर्ने एमनेस्टीको भनाइ छ । ‘प्रायः कतारमा रहेका श्रमिकहरूले अझै पनि आफूलाई दुव्र्यवहार र शोषणले परिभाषित गरिरहेका छन्’ एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्यायका प्रमुख स्टिव कक्बर्नले भने । अन्तर्राष्ट्रिय मापदण्डअनुसार विश्वकप प्रतियोगिताबाट उत्पन्न हुने मानवअधिकारका जोखिमहरूलाई न्यूनीकरण गर्ने दायित्व आयोजक निकायको नाताले फिफाको पनि भएकाले फिफालाई यस विषयमा सजग गराइएको एमनेस्टको भनाइ छ ।
यसैगरी, सन् २०१७ मा मानवअधिकार नीति र सन् २०१९ अक्टोबरमा संयुक्त फिफा विश्वकप कतार २०२२ दीर्घकालीन रणनीति ल्याउनेलगायत फिफाले आफ्नो जिम्मेवारी निभाउन हालैका वर्षहरूमा चालेका कदमहरूलाई एम्नेस्टीले स्वागतसमेत गरेको बताएको छ । एम्नेस्टीकाअनुसार फिफाले ‘कतार र अन्तर्राष्ट्रिय रूपमा श्रमिकका लागि एउटा विश्वस्तरीय मापदण्ड र अभ्यास छाड्ने वाचा गरेको थियो तर निरन्तर जारी गम्भीर श्रमिक दुव्र्यवहारले अझै धेरै गर्न बाँकी रहेको देखिएको छ ।’
७७० मिलियन युरो लागतको अल–बयत रंगशाला निर्माणमा कार्यरत श्रमिकहरू बिनाभुक्तानी सात महिनासम्म काम गरेको एम्नेस्टीले जनाएको छ । यस्तो विषयमा फिफाले पनि ध्यान दिन आवश्यक रहेको उसको भनाइ छ । अहिले विश्वभरका एम्नेस्टी इन्टरनेसनलका कार्यालयहरूले फुटबल प्रशंसकहरूलाई फिफा प्रतियोगिता सम्भव बनाउनका निम्ति काम गरिरहेका श्रमिकहरूको अवस्थामा परिवर्तन ल्याउन एउटा आह्वानपत्रमा हस्ताक्षर गर्नका लागि आग्रहसमेत गरिरहेका छन् ।